कोरोनाविरुद्धको अमेरिकी खोप नेपाल आइपुग्यो
कोरोनाविरुद्धको अमेरिकी खोप नेपाल आइपुगेको छ । बिहान १० बजे कतार एयरबाट जोनसन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० मात्रा खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो ।
सो खोप विमानस्थलमै स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले हस्तान्तरण गरेका छन् । जोन्सन एन्ड जोन्सनले निर्माण गरेको सो खोपको एक मात्रा मात्र लगाए पुग्ने बताइएको छ ।
नेपाललाई प्रदान गरिएको खोपले करिब १५ लाख मानिसलाई पुग्ने बताइएको छ ।
खोप कुन उमेर वा व्यक्तिलाई दिने भन्ने विषयमा अझै टुंगो लागिसकेको छैन । तर वैदेशिक रोजगार वा कुनै काममा विदेश जाने र शिक्षकलगायतलाई दिने विषयमा छलफल चलिरहेको बताइएको छ ।