वीरगञ्जमा कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी बढे
नारायणी अस्पताल वीरगञ्जमा कार्यरत नर्स दीपा रणजीत मानन्धर कोभिड वार्डको ड्युटी सकाएर जनरल आइसियू वार्डमा सरेकी थिइन् । अचानक ज्वरो आउन शुरु गर्यो । ज्वरो १०० देखि १०३ सम्म पुग्थ्यो । सास फेर्न गाह्रो हुन थाल्यो । शरीर एकदमै कमजोर भयो । ब्लड प्रेसर पनि कम देखियो । उनी अचानक बेहोस नै भइन् । पीसीआर परीक्षण गराउँदा नेगेटिभ थियो । स्वास्थ्यमा समस्या देखिएको १० दिन वितिसक्दा पनि उनी तंगि्रन सकेकी छैनन् ।
‘पाँच दिनसम्म लगातार ज्वरो आयो, सास फेर्न गाह्रो भएर अक्सिजन नै दिनुपर्यो,’ उनले भनिन् ‘डाक्टरको परामर्श अनुसार औषधी खाएपछि स्वास्थ्य समस्या ठिक भयो, तर कमजोरी कायमै छ । अस्पतालमा ड्युटी जान सकेको छैन ।’
धेरै लक्षण केभिड-१९ सँग मिल्दोजुल्दो लक्षण देखिने भएकाले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । कोभिड- १९ संक्रमितमा पछिल्ला दिनमा कडा ज्वरो कडा आउने, टाउको दुख्ने, खोकी लाग्ने, भोक नलाग्ने, रगत परीक्षण गर्दा प्लेटलेट्सको मात्रा कम हुने, लिम्फोसाइटको मात्रा घट्ने र सिआरपीको मात्रा बढ्ने गरेको छ ।
रोग सुरु भएकै दिनदेखि अधिकांशमा नाकबाट पातलो सिंगान बग्ने गर्दछ । यसमा शुरुबाटै सुक्खा खोकी लाग्ने गर्दछ । जबकी कोभिड १९ मा प्रायः ५-७ दिन पछि खोकी लाग्न शुरु हुन्छ ।
ज्वरोको तापक्रम तुलनात्मक हिसाबले अन्य फ्लुमा भन्दा बढी देखिएको छ । फ्लुमा थोरैलाई मात्रै सास फेर्न अप्ठेरो भएको छ । अक्सिजन स्याचुरेसन सामान्य नै देखिएको छ ।
३-५ दिनपछि औसतमा लक्षणहरु ठिक भएका छन् । जबकी कोभिड १९ मा ७ दिनपछि मात्रै निमोनियाका लक्षणहरु देखिन्छ ।
गन्ध र स्वादमा कुनै असर देखिएको छैन । बरु विरामीले आफूलाई निकै कमजोर महशुस गरेको अनुभव सुनाएका छन् ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले सजिलै छुट्याउन गाह्रो छ । पाँच दिन भन्दा बढी लक्षण निरन्तर देखिएमा वा जटिलता थपिएमा अनिवार्य पीसीआर परिक्षण गराउनुपर्दछ । विशेषगरी फ्लु आफैं ठिक हुने भएकाले सामान्य पारासिटामोल, एन्टिएलर्जिकको सेवनले निको हुने गरेको छ । पारा सिटामोल डाक्टरको सल्लाहअनुसार प्रयोग गर्न सकिन्छ । एकदमै कडा ज्वरो आएको खण्डमा विरामीको शरीरलाई नरम कपडा पानीमा भिजाएर पुछिदिने वा पानीपट्टी गर्नुपर्ने हुन्छ ।
रोग लागेर उपचार गराउनु भन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हुन्छ । तसर्थ चिकित्सकहरु झोल पदार्थको प्रशस्त सेवन, पोषिलो खाने कुरा खाने, मनतातो पानीमा कागती, मह मिसार पिउने, प्रशस्त मात्रामा फलफूल खाँदा राम्रो हुने बताउँछन् । कोभिड-१९ र इन्ˆलुएञ्जा जस्तै विरामी फैलने माध्यम एउटै भएकाले बच्ने उपाय उस्तै छन् ।