नारायणी अस्पतालमा अब बिरामी कुरुवाले अक्सिजन सिलिण्डर ल्याउनु नपर्ने
कोरोना संक्रमणको दोस्रो लहर उत्कर्षमा पुग्दा नारायणी अस्पतालमा संक्रमितको अत्याधिक चाप थियो । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमितको शरीरमा अक्सिजनको कमी हुने समस्या थियो । संक्रमितलाई हाई फ्लोमा अक्सिजन दिनुपर्ने अवस्था थियो । तर त्यसबेला ‘टर्सरी अस्पताल’ घोषित नारायणीमा अक्सिजन प्लान्ट त परको कुरा, अक्सिजन पाइपलाइन समेत थिएन ।
तर अहिले नारायणी अस्पतालको स्थितिमा सुधार आइसकेको छ । अस्पतालमा तीन ठाउँमा अक्सिजन सप्लाई गर्ने स्टेसन बनाइएको छ । अक्सिजन स्टेसनमा सिलिण्डरमार्फत अक्सिजन सप्लाई हुँदै आएको छ ।
अस्पतालमा उपचाररत कोरोना संक्रमित मात्रै नभएर श्वासप्रश्वासका अन्य बिरामीका लागि पनि अक्सिजन पाइपलाइनबाट अक्सिजन दिन सकिन्छ । इमरजेन्सी, आईसीयू, एचडीयू र सर्जिकल वार्डमा अक्सिजन पाइपलाइन जडान भइसकेको छ । उद्योग वाणिज्य संघ वीरगञ्जको सहयोगमा तयार पारिएको ३० बेडको बाल सघन चिकित्सा कक्ष पनि अक्सिजन पाइपलाइन सहितको छ ।
इमरजेन्सीमा सूर्य नेपालले अक्सिजन पाइपलाइन जडानमा सहयोग गरेको थियो भने नेपाल फर्मास्युटिकल्स, सत्यनारायण क्याल लगायतले पनि विभिन्न वार्डमा अक्सिजन पाइपलाइन विस्तारमा सहयोग गरेका छन् । अस्पतालले २५ लाख रुपैयाँ खर्च गरेर एचडीयू वार्डमा अक्सिजन पाइपलाइन जडान गरेको अस्पतालको जिन्सी शाखा प्रमुख सुशील यादवले बताए ।
अक्सिजन पाइपलाइन जडान भएपछि कोराना संक्रमित सहित अक्सिजन चाहिने बिरामीको उपचारमा सहज भएको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु बताउँछन् । नर्स अहेमा थापा अब अस्पतालमा संक्रमितका लागि अक्सिजन सिलिण्डर ओसार्नुपर्ने झन्झटबाट मुक्ति मिलेको बताउँछिन् । ‘अब कसैले पनि अक्सिजन सिलिण्डर ओसार्नुपर्दैन,’ उनले भनिन्, ‘बिरामीको अक्सिजन सकिएपछि समयमै अर्को जडान गर्न नसकिने हो कि ? भन्ने चिन्ता पनि छैन ।’
नारायणी अस्पतालका डाक्टर सरोजरोशन दास अक्सिजन पाइपलाइन जडान भएपछि काम गर्न निकै सहज भएको बताउँछन् । ‘सिलिण्डरबाट अक्सिजन दिंदा सकिने बित्तिकै संक्रमित हाईपोक्सियामा जान्थे । फेरि नर्मल अवस्थामा ल्याउन समय लाग्थ्यो । रातको समयमा कम जनशक्ति हुने हुँदा झनै गाह्रो हुन्थ्यो,’ उनले भने, ‘थप जनशक्ति राख्नुपर्दा बढी खर्च भइरहेको थियो । अब जनशक्ति कम भए पुग्छ ।’