असार ७ पछि ‘स्मार्ट लकडाउन’ गरिने
कोरोना व्यवस्थापन निर्देशक समितिको बैठकले असार दोस्रो सातादेखि ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको छ।
समितिको बुधबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम रोक्ने र अत्यावश्यक बस्तु उत्पादन तथा आपूर्तिसहित ‘स्मार्ट लकडाउन’तर्फ जाने निर्णय गरेको हो।
सवारी साधनमा जोर/बिजोर, सरकारी कार्यालय सातामा दुई दिन बिदा, निश्चित क्षेत्र मात्रै खोल्नेलगायतका विकल्पमा छलफल गरी स्मार्ट लकडाउन गर्न लागिएको हो। असार ७ गतेसम्म कोरोना संक्रमणको अवस्था अध्ययन गरेर थप निर्णयमा पुगिने निर्देशक समितिका कार्यकारी निर्देशक बालानन्द शर्माले बताए।
अहिले काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा असार ७ गतेसम्म थप भएको थियो। त्यसपछि पनि निषेधाज्ञा कायमै रहने भएको छ। काठमाडौं, ललितपुर, भक्तपुर, चितवनलगायत क्षेत्रमा पनि निषेधाज्ञा कायमै छ।
‘अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको छ,’ बैठकपछि समितिका एक सदस्यले भने।
यो बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो।
बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशिया जस्ता देशहरुमा हवाइ उडान पुनः संचालन गर्ने निर्णय गरेको छ।