चीन सरकारले दिएका २०,००० वटामध्ये दुई हजार अक्सिजन सिलिन्डर 'हवाईमार्गबाट ल्याइँदै'
कोरोनाभाइरस महामारीका कारण विषम परिस्थिति उत्पन्न हुने आकलन गरिएका बेला चीन सरकारले नेपाललाई २०,००० थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। ती सिलिन्डरहरू हवाई र स्थलमार्गबाट झिकाउने प्रयास अघि बढाइएको नेपाली अधिकारीहरूले बताएका छन्।
नेपालभित्रै अक्सिजन उत्पादन भइरहेको भए पनि गम्भीर समस्या भएका कोभिड-१९ का बिरामी बढ्दै जाँदा अहिले उपलब्ध सिलिन्डर तथा स्वास्थ्योपचारका अन्य सामग्री अपर्याप्त हुन सक्ने चिन्ता जनस्वास्थ्यविद्हरूले गर्दै आएका थिए।
यसै साता दक्षिण एशियाका पाँच देशका विदेशमन्त्रीसँग कोभिड-१९ को जोखिम नियन्त्रणका क्षेत्रमा सहकार्यसहितका विषयमा छलफल गरेको बेइजिङले नेपाललाई सिलिन्डरहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो।
उक्त परिमाणमा सिलिन्डर भित्र्याउने जिम्मा परराष्ट्र मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अर्थ मन्त्रालयले पाएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताए।