ठाकुर-महतो पक्षीय सांसदको भेला सुरू
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षको संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारमा ठाकुर-महतो पक्षको बैठक बसेको हो।
जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराइ र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई भने बैठकबारे जानकारी गराइएको छैन।
जसपा सांसद मोहम्मद इस्तिहाक राईले संसदीय दलको बैठक नभएर गुटको बैठक भएको बताए। उनले दुई अध्यक्षबीच भएको सहमति बिपरित बैठक बोलाइएको समेत आरोप लगाए।
'पार्टी निर्णय विपरीत गुटको बैठक हुनु गलत हो। यसले पार्टी एकतालाई फाइदा गर्दैन। दुई अध्यक्षले जारी गरेको संयुक्त बक्तब्य विपरित हो,’ उनले सेतोपाटीसँग भने, ‘मधेश आन्दोलन र जनताको भावना बिपरित जाने अधिकार कसैलाई पनि छैन। यस बारेमा पार्टीमा छलफल हुन्छ।’
ठाकुर-महतो पक्षले आफूसँग बहुमत सांसद रहेको दावी गर्दै आएको छ। सो समूहले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन समेत गरिसकेको छ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीको ठाकुर-महतो पक्षबीच संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भएको थियो।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच भएको भेटमा यस्तो सहमति भएको हो।
'उहाँहरूबीच संविधान संशोधनका लागि कार्यदल अथवा मस्यौदा समिति बनाउने सैद्धान्तिक सहमति भएको छ। यसको नाम जे राखिए पनि त्यो संविधान संशोधनकै लागि हो,' ठाकुरनिकट जसपा नेता सुरेन्द्र झाले सेतोपाटीसँग भने,'कार्यदलको घोषणा आज हुन्छ होला। उहाँहरूबीच जे-जस्ता सहमति भएका छन् ती सबै आज सार्वजनिक हन्छन्।'
यो विषयमा सहमति भए ठाकुर-महतोले उठाउँदै आएका माग सम्बोधन हुन्छन्। यस्तो अवस्थामा ओली नेतृत्वको सरकारमा जाने घोषणा यसअघि नै ठाकुर-महतो पक्षले गरिसकेको छ। आफूहरूसँग १८ जनाभन्दा बढी सांसद भएको ठाकुर महतो पक्षको दाबी छ। एमालेको नेतृत्वमा सरकार बनाउन अर्को पार्टीका १५ जना सांसदको समर्थन भए पुग्छ।