काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक कार्यालय नखुल्ने
कोभिड–१९ सङक्रमण रोकथामका लागि उपत्यकामा आज बिहानैदेखि लागू हुने गरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ।
उपत्यकाका तीन जिल्ला (काठमाठौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले उक्त निर्णय गरेको हो। उपत्यकामा वैशाख १६ गतेदेखि निषेधको आदेश जारी भएको थियो। त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गरिएको थियो।
यसपालि निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान १० बजेसम्म खुला रहने छ। उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र बिक्री गर्न) खुला हुने छ। मानिसको भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ।
सर्वसाधारणले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्किन पाउने छैन।
सार्वजनिक एवं निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म उपत्यकामा सञ्चालनमा रोक लगाइएको छ।