निषेधाज्ञामा बढी भाडा लिनेहरु धमाधम पक्राउ
काठमाडौँ उपत्यकाबाट गृह जिल्ला जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिइ ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषा मिथिलाका ४३ वर्षीयय कृष्ण देवकोटा, झापा गौरदहका ४२ वर्षीय खड्गबहादुर भण्डारीलाई कोटेश्वर र दोलखा सिंगटी घर भइ भक्तपुर बस्ने ३४ वर्षीय राम सुरेललाई गौशालाबाट नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।
काठमाडौँदेखि पुर्व झापा मोरङ्ग जाने यात्रुहरुसँग जनही तीन हजारदेखि पैतालिस सयसम्म भाडा लिने ईन्द्रेणी हाइसको काउण्टर र प्रदेश ३-०१-००६ख १४३१ नम्बरको भाडा बसका कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ परेका सुरेललाई वृत्त गौशाला र अन्य दुई जनालाई आवश्यक कारबाहीको लागि प्रहरी प्रभाग कोटेश्वरमा बुझाएको छ ।
यस्तै बिहीबार महामारीमा सार्वजनिक सवारी संचालनमा पूर्ण रोक लगाएको भएता पनि बिभिन्न समस्यामा परेका र विदेशबाट आएकाहरुलाई लैजाने बहानामा बढी भाडा लिई ठगी गर्ने ६ जनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागि प्रहरी प्रभाग गोङगबु र कलंकीमा बुझाएको समेत महाशाखाले जनाएको छ ।
बढी भाडा लिएमा वा सार्बजनिक यातायात सम्बन्धी कुनै गुनासो भएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।