वीरगन्जमा कोरोनाबाट थप ५ जनाको मृत्यु
कोरोना संक्रमणको हटस्पट बनेको वीरगन्जमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या दिनहुँ बढ्दै गएको छ । वीरगन्जमा मङगलबार मात्रै कोरोना संक्रमणले ५ जनाको मृत्यु भएको छ ।
यसअघि सोमबार पनि वीरगन्जमा १० जना संक्रमितको मृत्यु भएको थियो । मङगलबार ५ जनाको मृत्यु भएसँगै वीरगन्जमा दोस्रो लहरको कोरोना संक्रमण सुरु भएयता कोरोना संक्रमणले मर्नेको संख्या ८८ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्याक्ति विनय श्रीवास्तवले जानकारी दिए ।
श्रीवास्तवका अनुसार , मृतक ८८ मध्ये पर्सा जिल्ला घर भएका ५६ जना हुन् । बाँकी ३२ जना भने अन्य जिल्ला तथा भारत घर भइ वीरगन्जमा बस्दै आएकाहरु रहेको श्रीवास्तवले जानकारी दिए । वीरगन्जमा मङगलबार नारायणी अस्पतालमा ३ र नेशनल मेडिकल कलेजको कोभिड अस्थायी अस्पतालमा २ जना गरी ५ जना संक्रमितको मृत्यु भएको हो ।
नारायणी अस्पतालमा उपचाररत पर्साको जगरनाथपुर गापा १ का ३५ वर्षीय पुरुषको मङगलबा बिहान पौने ६ बजे मृत्यु भएको छ । वैशाख २१ गते नारायणी अस्पतालमा भर्ना गरिएको उनको त्यही दिन एन्टिजेन परीक्षण गर्दा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नारायणी अस्पतालमै बाराको बुनियादका ५५ वर्षीय पुरुषको पनि मङगलबार बिहान ३ बजे मृत्यु भएको छ । वैशाख २६ गते नारायणी अस्पतालमा भर्ना भएका ती पुरुषको त्यहि दिन एन्टिजेन विधिबाट परीक्षण गर्दा उनको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।
नारायणी अस्पतालमै उपचाररत वीरगन्ज महानगरपालिका वडा नम्बर ९ का ५५ बर्षीय पुरुषको पनि मङगलबार बिहान २ बजेर १० मिनेटमा मृत्यु भएको छ । वैशाख २१ गते नारायणी अस्पतालमा भर्ना गरिएको उनको त्यही दिन परीक्षण गर्दा कोरोना रिर्पोट पोजिटिभ आएको थियो ।
वीरगन्जको नेशनल मेडिकल कलेजको कोभिड अस्थायी अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका वडा नम्बर १५ की ५७ वर्षीया महिलाको पनि मङगलबार बिहान १ बजेर १० मिनेटमा मृत्यु भएको छ । वैशाख २३ गते अस्पतालमा भर्ना भएकी ती महिलाको त्यहि दिन पिसिआर परिक्षण गर्दा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेशनल मेडिकल कलेजको कोभिड अस्थायी अस्पतालमै उपचाररत वीरगन्ज महानगरपालिका वडा नम्बर ६ का ७६ वर्षीय पुरुषको पनि मङगलबार बिहान १ बजेर २० मिनेटमा मृत्यु भएको छ । वैशाख २३ गते नै मेडिकल कलेजको कोराना अस्थायी अस्पतालमा भर्ना भएका ती पुरक्षमा त्यहि दिन पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।