स्वीट्जरल्याण्डद्धारा ९४ करोड बराबरका स्वास्थ्य सामग्री सहयोग
नेपाललाई कोभिड १९ को महामारीविरुद्ध लडाइँमा सहयोग गर्न स्वीट्जरल्याण्डले ९४ करोड रुपैयाँ बराबरका स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । जेनेभाबाट स्वास्थ्य सामग्री बोकेको विशेष कार्गो विमान शनिबार काठमाडौंमा अवतरण गरेको छ । स्वीस राजदुत एलिजावेथ भोन क्यापेलरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छन् ।
स्वीस दूताबासका अनुसार विनासकारी कोभिड–१९ संकटसँग लड्न अत्यावश्यक स्वास्थ्य सामग्री बारे नेपालले गरेको आग्रहमा स्वीट्जरल्याण्डले सहयोग उपलब्ध गराएको हो । कूल तीस टन तौल, अमेरिकी डलर ८० लाख (नेपाली रुपैँया झण्डै ९४ करोड) बराबरको स्वास्थ्य सामग्रीमा ४० भेण्टिलेटर, अक्सीजन कन्सन्ट्रेटर, ११ लाख ¥यापिड एण्टिजेन टेष्ट साथै १ लाख १० हजार केएन ९५मास्क, ५० हजार पञ्जा र १५ हजार पी.पी.ई. छन् ।
भेन्टिलेटर, अक्सीजन कन्सन्ट्रेटर र सुरक्षा उपकरणले नेपालका विभिन्न अस्पतालले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउने स्वीस सरकारले अपेक्षा व्यक्त गरेको छ । यसैगरि उपलब्ध एण्टिजेन परीक्षणले द्रुत स्वास्थ्य परीक्षण, सामुदायिक स्तरमा निगरानी र विरामीहरूको शिघ्र आइसोलेसनलाई सहज बनाउँदै भाइरसको पैmलावटलाई अनुगमन र नियन्त्रण गर्न सघाउ पुर्याउने अपेक्षा स्वीस सरकारले गरेको छ ।
हालसम्म, स्विट्जरल्याण्डले नेपालमा कोभिड–१९ महामारी सम्वोधनको लागि कूल अमेरिकी डलर २ करोड (नेपाली रुपैयाँ झण्डै २ अर्ब ३४ करोड) उपलव्ध गराएकोछ । सहयोगप्रति स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले स्वीस सरकारलाई धन्यबाद दिएका छन् । ‘स्विट्जरल्याण्ड कोभिड–१९ महामारी विरुद्धको लडाइँमा नेपाल र नेपालीहरूसँग ऐक्यवद्धतामा उभिन्छ । यी अत्यावश्यक स्वास्थ्य सामग्रीले मानिसहरूको ज्यान बचाउँछ र महामारी नियन्त्रण गर्न र रोक्न नेपाल सरकारलाई थप सघाउ पुर्याउनेछ,’ नेपालका लागि स्विट्जरल्याण्डकी राजदुत क्यापेलरले भनेकी छन् ।
स्वीस दुताबासका अनुसार हाल पठाइएको अत्यावश्यक स्वास्थ्य सामग्री नेपालमा स्विट्जरल्याण्डले अप्रिल २०२० मा सुरु गरेकोमा कोभिड–१९ विरुद्धको वृहत्तर सम्बोधनको एक भाग हो । यस अन्तर्गत हालसम्म ७० हजार रोच पीसीआर परीक्षण टेष्ट कीट र दुई वटा पीसीआर उपकरण हस्तान्तरण भइसकेका छन्, र प्रदेश १ का दुई अस्पतालहरुमा स्वास्थ्यजन्य फोहरको सुरक्षित व्यवस्थापन प्रणाली र स्वच्छ खानेपानी प्रणालीको स्थापना भइसकेका छन् ।
स्वीट्जरल्याण्डले कृषक परिवारलाई बिउ लगायतका महत्वपूर्ण कृषि सामग्री उपलब्ध गराउन स्थानीय व्यापारीहरूलाई परिचालन गर्ने कार्यक्रम पनि स्थापना गरेको छ । यसले आफ्ना विद्यमान परियोजनाहरूलाई कोभिड–१९ महामारीको समयमा पनि सेवाहरूलाई निरन्तरता दिनेगरि परिमार्जन गरेको छ र वैदेशिक रोजगारीका गन्तव्य मुलुकमा रोजगारी गुमाएर अलपत्र परेका आप्रवासी कामदारहरूलाई आवास, खाना, स्वास्थ्य सहायता, कानुनी परामर्श र स्वदेश फिर्तीको लागि सहायता उपलब्ध गराउँदै आएको छ ।