राष्ट्रियसभा उपनिर्वाचनको मतदान सुरु
राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ । मतदान सकिना साथ गणना सुरु हुने र भर्चुअल माध्यमबाट आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदान सकिएपछि साँझ पाँच बजेबाट मतगणना सुरु गर्ने योजना छ ।
श्रेष्ठका अनुसार मतदानस्थल हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको छ । निर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, विपक्षी गठबन्धनको तर्फबाट संघीयताविज्ञ खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का कृष्णबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा छन् ।
उपनिर्वाचनमा बागमती प्रदेशसभा सदस्य ११० तथा बागमती प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरु गरी ३४८ मतदाता छन् । मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ ।