भक्तपुरका सबै अस्पतालहरुमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना नलिने सूचना
भक्तपुर जिल्लाका सवै अस्पतालहरुमा अक्सिजनको अभाव भएको छ । अक्सिजनको अभाव भएपछि जिल्लाको धेरै जसो अस्पतालहरुले कोभिडको नयाँ बिरामी भर्ना नलिने मंगलवार सुचना जारी गरेका छन् ।
देशकै दोस्रो जेठो अस्पताल भक्तपुर अस्पतालमा अक्सिजनको अभावका कारण विरामीहरुलाई रिफर गर्दै गरेको आरएनए १६ का संयोजक अरुण सैजुले जानकारी दिनुभयो । अहिले भक्तपुर अस्पतालमा ५० भन्दा बढी विरामी अक्सिजन चाहिने विरामी भएकाले केही विरामी अक्सिजन नभएकाले अन्यत्र गइसकेको संयोजक सैंजुले बताउनुभयो ।
केही समयमा अक्सिजन भएन भने के हुन्छ भन्न सकिने अवस्था छैन भन्दै अहिले अस्पताल एकदम सुनसान भएको पनि सैंजुले बताउनुभयो । प्रहरीहरुसँग पनि अक्सिजन नभएको भन्ने जानकारी पाएको र अहिले एकसय वटा अक्सिजन सिलिण्डर चाहिने ठाउँमा जम्मा ४० वटाले काम चलाइराखेको सैंजुको जानकारी दिनुभयो । अहिले अस्पतालमा खटिएका ५ चिकित्सक र ४ जना स्टाफ नर्स संक्रमित भइसकेका पनि जाकारी दिनुभयो ।
त्यस्तै मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले नेपाल कोरिया मैत्री अस्पतालमा अहिले ४२ जना कोरोना संक्रमितको उपचार भइरहेको जानकारी दिनुभयो । उहाँले अस्पतालमा पनि अक्सिजनको अभाव भएको जानकारी दिनुभयो । समिट अस्पतालको विरामीहरु पनि अस्पतालमा बेड छ कि भनेर आइरहेका छन्, नगरप्रमुख श्रेष्ठले बताउँदैे बेड नभएर व्हीलचेयरमा राखेर उपचार गराइरहेको सुनाउनुभयो ।
उहाँले अहिले आस्पतालमा आज एक दिनको लागि पुग्ने अक्सिजन छ, भोली के गर्ने थाहा छैन भन्दै अक्सिजन उपलब्ध नभए अस्पतालमा भएका विरामीहरु पनि रिफर गर्नुपर्ने अवस्था आउने बताउनुभयो ।
भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद भट्टाईले सिसिएमसीसीले मन्त्रालयमा अक्सिजनको लागि सबै अस्पतालको लिस्ट पाठाई सकेको जानकारी दिदै जसमा भक्तपुर अस्पतालको नाम छुटेकोले यस्तो अवस्था आएको बताउनभयो ।
अब अक्सिजनको अभाव नहुने बताउँदै अहिले त्यो लिस्टमा भएका अस्पतालहरुलाई प्राथमिकतामा राखी अक्सिजन वितरण गर्ने मन्त्रालयबाट निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो ।