पिपिई सेट लगाएर मितेर पुलमा नेपाल र चीनका अधिकारीहरूको बैठक : नाकामा कडाइ हुने
कोरोना भाइरस (कोेभिड–१९) को जोखिम रहँदासम्म रसुवागढी नाकामा कडाइ गरिने भएको छ ।
बिहीबार दिउँसो रसुवागढी नाकामा रहेको नेपाल-चीनबीचको मितेरी पुलमा दुबै देशका अधिकारीहरूको बैठकले नाकामा कडाइ नगर्दा कोरोनाको थप जोखिम बढ्ने भएकाले अहिलेको अवस्थालाई नै निरन्तरता दिइने निर्णय गरेकाे हाे ।
एक वर्षअघिदेखि नाकामा मानिसको आवतजावत रोकिएको छ भने चिनियाँ सामग्री चिनियाँ गाडीले नै ल्याइरहेका छन् । बैठकमा सहभागी दुबैतिरका सबै जनाले सेतै पिपिई सेट, फेससिल्ड लगाएका थिए ।
बैठकले दुई देश बीचको सीमा सुरक्षा बैठकले नाकामा आवतजावत गर्न नदिने, चिनियाँ गाडीले नै सामग्री नेपालसम्म ल्याएर झार्ने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने लगायतका विषयलाई नै निरन्तरता दिने निर्णय गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद ढकालले बताउनुभयो ।
बैठकमा चिनियाँ पक्षले नेपाल तथा रसुवामा कोरोनाको अवस्था, कोरोना न्यूनीकरणका लागि चालिएको कदम, यसको नियन्त्रण तथा रोकथामको चुनौतीबारे चासो राखेका थिए ।