सरकारले सीमानाकामा अनिवार्य एन्टिजेन परीक्षण थाल्यो
भारतबाट नेपाल भित्रिनेहरुमा कोरोना संक्रमण पुष्टि हुने दर बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा कोरोना संक्रमण दर बढेसँगै नेपालमा पनि संक्रमण बढेको छ ।
सरकारले सीमानाकाबाट नेपाल भित्रिने सम्पूर्णको एन्टिजेन परीक्षण अनिवार्य गरेको छ । भारतमा फैलिएको दोस्रो लहरको महामारी नेपालमा पनि फैलिने सम्भावनालाई मध्यनजर गर्दै यातिबेला सबै सरकारी निकायहरुले तयारी तीब्र पारेका छन् ।
स्वास्थ्य मन्त्रालय, नेपाली सेना, सीसीएमसीलगायतका निकायहरुले दोस्रो लहरलाई मध्यनजर गर्दै क्वारेन्टाइन राख्ने स्थानको व्यबस्थापन, अस्पताल, प्रादेशिक अस्पताल र सबै आधारभूत अस्पतालहरुमा कोभिड–१९ को उपचार व्यवस्थापन गर्ने लगायतको तयारी सुरु गरेको छ ।
नेपाल–भारत सीमा क्षेत्रका १४ वटा हेल्थ डेस्कमार्फत् भारतबाट नेपाल भित्रिने सम्पूर्णको एन्टिजेन परीक्षण गरिदै आएको छ । सीमानाकाबाट नेपाल भित्रिएका १६ सय ६० जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको इपिडीमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले जनाएको छ ।
भारतबाट नेपाल भित्रिएका संक्रमितमा कोरोनाको नयाँ भेरियन्ट हो वा होइन भन्ने पता लगाउन जिन सिक्वेन्सिङ्ग परीक्षण भइरहेको र त्यसको नतिजा केही दिनमा आउने माहाशाखाले जनाएको छ । संक्रमण बढ्दै गएपछि सीमानाकामा मात्र होइन उपत्यकाको हट स्पटहरुमा पनि एन्टिजेन परीक्षण सुरु गरिने भएको छ ।
एन्टिजेन परीक्षण पनि पीसीआर जस्तै प्रभावकारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । पीसीआर परीक्षण कम्तीमा पनि ५ घण्टा समय लाग्छ ।
एन्टिजेन परीक्षणले रिपोर्ट १५ मिनेटमै आउछ । एन्टिजेनले शरीरमा भाइरस प्रवेश गरेको ३ दिन मै पत्ता लाग्ने बिज्ञहरु बताउछन् । बढ्दै गएको संक्रमणलाई मध्यनजर गर्दै परीक्षणको दायरा बढाउदै जनस्वास्थ्यका मापदण्ड अनिवार्य अबलम्बन गर्न बिज्ञको सुझाब छ ।