दुर्घटनास्थलबाट कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद
सिरहामा दुर्घटना भएको ठाउँमा कटुवा पेस्तोल र दुई राउण्ड गोली फेला परेको छ।
गोलबजार नगरपालिका-७ पुरानो चोहर्बामा आइतबार राति दुर्घटनास्थलबाट एक थान कटुवा पेस्तोल र ७.६२ एमएमको २ राउन्ड गोली बरामद भएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार उक्त ठाउँमा ना ३ ख ४७७४ नम्बरको ट्रकले प्रदेश नम्बर २-०१-००२ प ५४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कर्जन्हा नगरपालिका-४ बस्ने २६ वर्षीय मुकेश दास गम्भीर घाइते भएका थिए।
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले दुर्घटनास्थलबाट उक्त पेस्तोल र घाइते मुकेशको पाइन्टको खल्तीबाट गोली बरामद गरेको हो।
गम्भीर घाइते भएका मुकेशलाई स्थानीय सगरमाथा अस्पताल चोहर्बा हुँदै थप उपचारको लागि विराट नर्सिङ होम विराटनगर लगिएको छ।