होली खेल्नेक्रममा एसिडले छ्याप्दा तीन बालक घाइते
काठमाडौंको शंखरापुरमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना बालक घाइते भएका छन्।
आइतबार दिउँसो शंखरापुर नगरपालिका-१ चापाकोटमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।
घाइते हुनेमा ९, ११ र १६ वर्षका बालक छन्। प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १७ वर्षिय पवन पहाडी र १८ वर्षका आकाश तामाङ छन्।
उनीहरूले होली खेल्ने क्रममा पानी भनेर एसिड फ्याकेका थिए।
घाइते बालकहरूको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको हात, अनुहार र कम्मरमा एसिडले लागेको एसएसपी सिंहले बताए। परिसरले आइतबार होलीमा २५ सय प्रहरी परिचालन गरेको थियो। प्रहरीले दुई सय बढीलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई स्क्रिनिङ गरिरहेको एसएसपी सिंहले जानकारी दिए।