सिरहा विष्फोट : गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइदै
सिरहाको लहानस्थित मालपोत कार्यालयमा प्रेसर कुकर बम विष्फोटमा परी गम्भीर घाइते दुई जनालाई हेलिकप्टरमार्फत् थप उपचारका लागि काठमाडौं ल्याइदैछ ।
आइतबार (आज) दिउँसो लहान नगरपालिकास्थित कार्यालय परिसरमा प्रेसर कुकर बम विस्फोट हुँदा पाँच जना घाइते भएका थिए । जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै, उक्त बम विस्फोटस्थलबाट जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)को पर्चा भेटिएको छ । बम विस्फोट भएको कार्यालयको पहिलो तल्लास्थित मुठ फाँट नजिक टुक्रा–टुक्रा भएको मोर्चाको पर्चा भेटिएको हो । विस्फोटक पदार्थ रहेको झोलामै उक्त पर्चा राखिएको थियो वा अन्य ठाउँमा यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । पर्चामा जयकृष्ण गोइतको हस्ताक्षर छ ।
पर्चामा लेखिएका हरफहरु प्रष्ट पढ्न नसकिनेगरी टुक्रा टुक्रा भएका छन् । टुक्रा–टुक्रा परेको पर्चा जाडेर प्रहरीले अनुसन्धान गर्ने जनाएको छ ।