कन्टेनरले ठक्कर दिँदा नख्खुमा मोटरसाइकल चालकको मृत्यु
ललितपुरको नख्खुमा कन्टेनरको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। मोटरसाइकलमा पछाडि बसेका एक जना गम्भीर घाइते छन्।
आइतबार राति ९:२५ मा सातदोबाटोतिरबाट आइरहेको खाली कन्टेनरले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा कास्कीका ३७ वर्षीय गणेशप्रसाद अधिकारीको मृत्यु भएको ललितपुर प्रहरीका एसपी प्रज्वल महर्जनले जानकारी दिए।
प्रदेश नम्बर ३-०२-०१८ प ८३६९ नम्बरको मोटरसाइकल चालक अधिकारीको उपचारको क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो। मोटरसाइकलको पछाडि बसेका ललितपुर १४ शोभाहिटीका ३२ वर्षीय रवी श्रेष्ठ गम्भीर घाइते छन्। उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
ठक्कर दिने ना २ ख ७५८३ नम्बरको कन्टेनर र चालक सिन्धुपाल्चोक बाह्रबिसेका सुकुलाल तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।