महाशिवरात्रीको अवसरमा देउवाद्वारा शुभकामना
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाशिवरात्रीको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्वी नेपालीहरुलाई शुभकामना दिएका छन् । शुभकामना दिँदै उनले सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । 'नेपाल विभिन्न चाड-पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको मुलुक हो । यसमध्ये हिन्दू धर्मावलम्वीहरुले अति श्रद्धाका साथ भगवान शिवको आराधना गरेर मनाइने महाशिवरात्री एक महत्वपूर्ण र पवित्र पर्व हो,' सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा रहेको पनि देउवाले उल्लेख गरेका छन् । साथै सबै चाड-पर्वहरु सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्द्रताका धरोहरहरु रहेको देउवाले बताएका छन् । 'यी चाड-पर्वहरुले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएका छन्,' उनले भनेका छन् ।