ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी
ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको दोभान बजारमा मंगलबार बिहानदेखि भीषण आगलागी भइरहेको छ । बिहान ९ बजेतिर एक घरबाट सल्किएको आगो बस्तीभरि फैलिएको हो ।
अहिलेसम्म आधाजति बजार जलिसकेको स्थानीयले बताएका छन् । स्थानीय गोपाल खवासका अनुसार आगो भोला पौडेलको घरबाट सल्किएको हो । पौडेलको घरमा रहेको कपडा पसलमा बिजुली सर्ट भएर आगो लागेको उनले जानकारी दिए । आगलागी नियन्त्रणका लागि सदरमुकाम फुङलिङ बजारबाट दमकल दोभान बजार पुगेको छ । आगलागी फैलन नदिन डोजरले कच्ची घरहरू भत्काइँदै छन् ।
घटनास्थलमै रहेका गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले अहिलेसम्म बजारको मुख्य क्षेत्रमा रहेको घना बस्ती जलिसकेको बताए । ‘फुङलिङमा रहेको एक मात्र दमकल आएर आगो थप फैलन त रोकेको छ,’ उनले भने, ‘तर आगलागी भइरहेको स्थानमा भने नियन्त्रणमा लिन सकिएको छैन । नजिक गएर हेर्ने अवस्था नभएकाले कति घर जले यसै भन्न सकिन्न ।’
बिहानको समयमा मानिसहरू ब्युँझिसकेको र आगो लाग्नेबित्तिकै बाहिर निस्कन पाएकाले मानवीय क्षति हुनबाट जोगिएको पनि उनले जानकारी दिए ।
दोभान जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्र हो ।
तस्बिर : रेडियो तमोरको फेसबुकबाट