हत्या गरी फरार रहेका अभियुक्त पक्राउ
निजगढ नगरपालिका-९ बुद्धचोक बस्ने रौतहट चन्द्रपुर नगरपालिका-४ घर भएका भुगेश्वर शर्माका १८ वर्षीय छोरा कालु भन्ने रोहित शर्माको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । रौतहट चन्द्रपुर नगरपालिका-४ ठेगाना भएका २९ वर्षीय अरूण कुमार साहलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
रोहितको घाटीमा चक्कु प्रहार गरी हत्या गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा हत्यामा संलग्न अरुणलाई चन्द्रनिगाहपुरस्थित किराना पसलबाट फेला पारेको हो ।
पूर्व रिसइवि र विवादको कारण मार्ने मनसाय अनुसार अरुण नै चक्कु सहित सोमबार रातिदेखि रोहितको घरमा बसेर मंगलबार बिहान चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो । उनलाई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।