कोमल वलीद्वारा रघुजी पन्तविरुद्ध मानहानिको मुद्दा दायर
राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमाले नेता रघुजी पन्तविरुद्ध मानहानिको मुद्दा दायर गर्नुभएको छ । केहीदिन अघि पन्तले सार्वजनिक रुपमा आफूविरुद्ध गरेको टिप्पणीलाई लिएर वलीले मंगलबार काठमाडौँ जिल्ला अदालतमा गालीबेइज्जतीको मुद्दा दायर गर्नुभएको हो ।
एमाले नेता रघुजी पन्तले लामो समयदेखि पार्टीमा योगदान दिएका नेतृले राष्ट्रियसभा सदस्य र केन्द्रीय सदस्य नपाएको तर वलीले विवादित गीत गाएकै आधारमा सांसद बनेको अभिव्यक्ति दिनुभएको थियो । उक्त अभिव्यक्तिले आफूलाई अन्याय परेको भन्दै वलीले मुद्दा दयार गर्नुभएको हो ।
रघुजी पन्तले आफूलाई प्रतिनिधिपात्र बनाइ समग्र महिलाप्रति नै अपमान हुनेगरी अभिव्यक्ति दिएको वालीको आरोप छ । ‘राजनीतिमा प्रोपोगाण्डा फैलाउने कुत्सित उद्देश्य बोकी विपक्षीले जानी जानी मलाई प्रतिनिधिपात्र बनाइ समग्र महिलाप्रति नै अपमान हुनेगरी अभिव्यक्ति दिनु भनेको महिलाविरुद्धको जघन्य हिंसा हो,’ वलीले उजुरीमा उल्लेख छ ।
रघुजी पन्तले आफ्नो इज्जतमा धक्का पुर्याउने नियतले चरित्र हत्य गरेको वालीले आरोप लगाउनु भएको छ । ‘मेरो इज्जतमा धक्का पुर्याउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानीजानी मेरो व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा व्यक्तिलाई होच्याउने गरी गाली बेइज्जती र चरित्र हत्या गरेको र सो कुरा प्रचार, प्रसार र प्रकाशन गरी मेरो मान प्रतिष्ठा र इज्जतमा धक्का पुर्याउने गरी अभिव्यक्ति दिएको स्पष्ट हुँदा गालीतर्फ मुलुकी अपराध संहित २०७४ को दफा ३०५ (१) (२) कसुर गरेको हुँदा ऐ. दफा ३०५ (३) बमोजिम र बेइज्जतीतर्फ ऐनको दफा ३०६ (१) (२) (क) बमोजिम कसुर गरेको हुँदा ऐनको दफा ३०७ (१) बमोजिम सजाय गरी विपक्षीले मलाई बेइज्जती गर्ने कार्य विद्युतीय माध्यमबाट गरेको हुँदा थप एक वर्ष कैद र दश हजार जरिवाना समेत गरी हदैसम्मको सजाय गरी पाऊँ ।