स्थानीय आन्दोलित, केराबारीमा तनाव
अव्यवस्थित क्रसर उद्योग सञ्चालन गरेका कारण गाउँनै बाढीको उच्च जोखिममा परेको भन्दै मोरङको केराबारी गाउँपालिका ८ का स्थानीयबासी आन्दोलनमा उत्रिएका छन् ।
गाउँ नजिकै भएर बग्ने खदम खोलामा रहेका दुई क्रसर उद्योगले गाउँ तर्फको भागमा अत्याधिक गहिरो पार्दै गिट्टि, बालुवा उत्खनन् गरेका कारण गाउँ बाढीको उच्च जोखिममा परेको स्थानीयको भनाइ छ ।
महादेव मिनरल इन्ड्रष्टिज र शिवम् क्रसर उद्योगले अव्यवस्थित रुपमा उत्खनन् गर्दै गाउँ सम्मनै आइपुगेकाले केराबारी गाउँपालिका–८ आमजुङ्गी बस्ती जोखिममा परेपछि शनिबारबाट स्थानीयवासी आन्दोलित बनेका हुन् । शनिबार गाउँतर्फको क्रसरको मेसिन हटाउन आन्दोलन गरेका स्थानीयले आइतबार बिहानैदेखि केराकाबरी गाउँपालिका घेराउ गर्दै जनप्रतिनिधि र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् ।
अहिले पनि स्थानीयले आफूहरुको समस्यामा जनप्रतिनिधि गम्भीर नबनेको भन्दै गाउँपालिका घेराउ गरिरहेका छन् । गाउँपालिकालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएको छ ।