सालोसँगै राति निवास छिरेका डिस्टिलरी उद्योगका सञ्चालक भोलिपल्ट मृत भेटिए
धनुषामा एक डिस्टिलरी उद्योगका सञ्चालकको शंकास्पद अवस्थामा शव फेला परेको छ। उनको हत्या भएको आशंकातर्फ प्रहरी अनुसन्धान केन्द्रित छ।
मंगलबार रातिकै घटना भए पनि प्रहरीले २४ घन्टासम्म सार्वजनिक गरेन। प्रादेशिक अस्पताल जनकपुर हुँदै सूचना बिहीबार बिहान सार्वजनिक भएको छ। उदयपुर त्रियुगा नगरपालिका-७ का करिब ५५ वर्षीय प्रमोद रेग्मीको उद्योगस्थित निवासमै हत्या भएको हो। प्रहरीका अनुसार क्षिरेश्वर नगरपालिका-७ मा रहेको क्षिरेश्वर डिस्टिलरी प्रा.लि.का प्रवन्ध निर्देशक थिए।
उनी बुधबार बिहान ९ बजेतिर आफू सुत्ने कोठामै मृत भेटिएका थिए। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रेग्मीको टाउकोमा चोट देखिएको छ।
‘वायाँतिरको निधारमा चोट देखिएको छ, सुत्ने कोठामा रगतका टाटाहरू देखिएका छन्,’ प्रवक्ता मकेन्द्र मिश्रले भने, ‘हत्याजस्तो देखिए पनि पोस्टमार्टम नगरीकन यकिन भन्न सकिएन।’ शवको प्रकृति हत्याजस्तो देखिए पनि यकिन गर्न पोस्टमार्टम रिपोर्ट आवश्यक भएको मिश्रले बताए।