सूर्य चिन्ह केपी ओलीले खोस्न सक्दैनन् : अध्यक्ष नेपाल
(काठमाडौं) नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीमा कम्युनिस्ट चरित्र र गुण नै नभएको बताएका छन् । मंगलबार पोखरामा भएको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीमा एकलकाटे प्रवृत्ति र गुटको संरक्षण गर्नेबाहेक अरु केही नभएको बताएका हुन् ।
‘केपी ओलीले कुन दिन कम्युनिस्ट पार्टी त्यागेको समाचार सुन्न बेर छैन, उहाँमा कम्युनिस्ट पार्टीको चरित्र छैन, गुण छैन’, अध्यक्ष नेपालको भनाइ छ । पार्टी गुट र व्यक्तिबाट चल्ने नभइ विचार र सिद्धान्तबाट चल्ने नेपालको भनाइ छ । उनले नेकपामा देखिएको विवाद यो पार्टीलाई कस्तो बनाउने भन्ने रहेको बताए । ‘पार्टीमा बैठक नबस्ने, जनजीवीकाको कुरा नै किन नहोस् छलफल हुनुपर्छ बहस हुनुपर्छ’ नेता नेपालको भनाइ छ ।
आफूले ओलीलाई पटक पटक प्रधानमन्त्री हुँदा पार्टी बैठकमा बस्न नभ्याउने भए आफूहरु छलफल र बहस गर्छौ भन्दा पनि नसुन्ने गरेको बताए । उनले केपी ओलीले सिकाएको संस्कार समेत सर्वहारा संस्कार नभएर सामन्ती संस्कार भएको बताए । ‘उहाँलाई आलोचना, गुनासो र विरोध मन पर्दैन, आलोचना गर्ने मान्छे उहाँको दृष्टिकोणमा नकारात्मक हुन्छ’अध्यक्ष नेपालले ओली प्रवृतिको खरो आलोचना गरे ।