टोखा हत्याकाण्ड : शव देखेको १४ घन्टासम्म प्रहरीलाई नभन्दा रहस्यमय
दसैँ मनाउन अमेरिकाबाट नेपाल आएका ललितपुरका आईटी प्राविधिक उमेश केसी आगामी बिहीबार अमेरिका फर्किदै थिए । अघिल्लो साता कुनै अप्रिय घटना नभएको भए उनी अमेरिका जाने तयारीमा हुन्थे ।
बिहीबार अमेरिका फर्कने टिकट हातमा लिएका केसीको मृत शरीर फेला परेको छ । अष्टमीबाट टोखा नगरपालिका–३ मा रहेको ग्रिनभिला हाउजिङमा श्रीमती सुदिक्षा गिरीसहित बसिरहेका उनी गत शुक्रबार राति पानै ९ बजे कोठामै मृत अवस्थामा भेटिएका छन् ।
श्रीमती गिरी चाहिँ कोठाको बाहिरपट्टी फलामको रेलिङमा सेतो सलको पासोमा झुण्डिइरहेको अवस्थामा भेटिएकी छन् । काठमाडौं प्रहरी प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी अशोक सिंह भन्छन्, ‘हालसम्मको अनुसन्धानले श्रीमती सुदिक्षाले केसीको हत्या गरी आत्महत्या गरेको हुनसक्ने आधारहरू देखिएका छन् ।’
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टमले पनि त्यसैलाई बल पुर्याउने गरी प्रारम्भिक रिपोर्ट दिएको उनी बताउँछन् । तर, सुदिक्षाकी दिदी उर्मिलाको भूमिकाले घटनालाई रहस्यमय बनाइदिएको अनुसन्धानमा खटिएका प्रहरीहरू बताउँछन् । अनुसन्धान अधिकृतहरूका अनुसार उमेश र सुदिक्षाको शव पहिलो पटक उर्मिलाले देखेकी थिइन् ।
पैदल हिँडेर करिब ५ मिनेट लाग्ने दूरीमा बस्ने उनी शुक्रबार बिहान करिब ६ बजेतिर सुदिक्षालाई खोज्दै हाउजिङमा आएकी थिइन् । अघिल्लो दिनबाटै पटकपटक फोन गर्दा पनि नउठाएपछि खोज्दै आएको उनले प्रहरीसमक्ष बयान दिएकी छन् ।
उर्मिलाका अनुसार घरमा पुग्दा अगाडि पट्टी ढोका बन्द थियो । पछाडिबाट हात छिराएर खोल्न मिल्ने चुकुल थियो, जुन अन्य वेला पनि उनले प्रयोग गर्ने गरेकी थिइन् । त्यहाँबाट भित्र प्रवेश गरेपछि उनले बहिनी सुदिक्षाको शव झुण्डिरहेको अवस्थामा देखिइन् । कोठामा ज्वाइँ उमेश पनि लडिरहेका थिए ।
विभत्स घटना देखेपछि पनि उनले प्रहरीलाई भने खबर गरिनन् । मृतक उमेशका दाइ हिमेश केसीले अनलाइनखबरसँग भने, ‘घटनालगत्तै प्रहरीलाई किन भनिएन ? हामीलाई किन खबर गरिएन ? यसले शंका गर्ने प्रशस्त आधार दिएको छ ।’
हिमेशका अनुसार प्रहरीलाई खबर गर्नु साटो अमेरिकामा भएका आफन्तलाई उर्मिलाले फोनमार्फत खबर गरेकी थिइन् । अमेरिकामा पुगेको सूचना रिले हुँदै सोही हाउजिङमा रहेका अवकाश प्राप्त प्रहरी उपरीक्षक (एसपी) भविन्द्र मल्लसम्म पुगेपछि उनैले प्रहरी कन्ट्रोल १०० मा घटनाबारे जानकारी टिपाएका थिए ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको कन्ट्रोलले ८ः४५ मा पूर्वएसपी मल्लले पठाएको सूचना काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंह, महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी रोशन खड्का लगायतलाई फरवार्ड गर्यो । पाँच मिनेटमा खड्काको नेतृत्वमा १५ जनाको टोली साढे दुई किलोमिटर उत्तर पश्चिममा रहेको अपराधस्थलमा पुगेको प्रहरी प्रतिवेदनले देखाउँछ ।
त्यसपछि बल्ल घटनास्थलको मुचुल्का, शवको जाँच लगायतका प्रक्रिया सुरु भएको देखिएको छ । हिमेशको प्रश्न छ, ‘बिहान थाहा पाएको घटनाबारे १२ घन्टाभन्दा बढी किन कसैलाई खबर गरिएन ?’ फेरि प्रहरीले पनि केटा पक्षको व्यक्ति नभेटिएको भन्दै हतारहतार शव उठाउनु पनि शंकास्पद रहेको उनको दाबी छ । अनुसन्धानमा संलग्न अधिकृतहरू पनि उर्मिलालाई छानविनको दायरामा राखिए पनि हालसम्म शंकास्पद विषय सतहमा नआएको बताउँछन् ।
बरु उनले घटना देखेपछि हतास अवस्थामा आफूले के गर्ने सोच्नै नसकेको बयान दिएको भनिएको छ ।