जुम्लाको गोठी गाउँमा आगलागी हुँदा २५ घर जलेर नष्ट
तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर २५ घर नष्ट भएका छन्।
सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मङ्गलबार सुधारिएको चुल्होको पाइपबाट छतमा भएको घाँँसमा सल्केको आगो गाउँभरि फैलिएपछि २५ घर जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक युवनकुमार चौधरीले बताए।
चौधरीका अनुसार घरसँगै २० देखि २५ पशुचौपायाको जलेर मृत्यु भएको छ। ‘स्थानीयवासीले दिएको सूचनाअनुसार आगलागी साँझ करिब ७ बजेतिर भएको रहेछ‘ उनले भने।
उनकाअनुसार खबर पाउने बित्तिकै तिला–१ रारालिही प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक भुपेन्द्रबहादुर शाहीको नेतृत्वमा तीन र कुडारी प्रहरी चौकीका प्रहरी जवान नरेन्द्र देउवासहित तीन गरी छ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो।