चन्द्रागिरिमा युवकमाथि खुकुरी प्रहार
चन्द्रागिरिमा खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्। बुधबार दिउँसो सवा १२ बजे चन्द्रागिरि नगरपालिका-५ यातायात कार्यालय पछाडि गोरेटो बाटोमा एक पुरूषमाथि खुकुरी प्रहार भएको हो।
चन्द्रागिरि नगरपालिका-१० धौलागिरि का २१ वर्षीय उपेन्द्र भट्ट र नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भई काठमाडौंको मच्छेगाउँ बस्ने २७ वर्षीय शनि गुर्वाचार्यबीच हानाहान भएको थियो। झडप हुँदा गुर्वाचार्यले उपेन्द्र भट्टमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले बताए।
महानगरीय प्रहरी वृत्त, थानकोटबाट प्रहरी परिचालन गरी शनि गुर्वाचार्यलाई बा ३६ प ८४९१ नम्बरको मोटरसाइकलसहित साँझ साढे ६ बजे मच्छेगाउँबाट पक्राउ गरिएको थियो।
उनको साथबाट खुकुरी पनि बरामद गरिएको एसपी बस्नेतले बताए। उनीमाथि प्रहरीले ज्यान मार्ने उद्योग कसूरअन्तर्गत मुद्दामा अनुसन्धान गरिरहेको छ।