आज दुई डिग्रीमा झर्यो
काठमाडौँमा आज हिजोभन्दा चिसो बढेको छ । हिजो न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री सेल्सियस रहेकोमा आज दुई डिग्रीमा झरेको छ ।
राति आकाश सफा भएकाले बिहान चिसो भएको मौसमविद्को भनाई छ । तराईमा पनि आज बाक्लो हुस्सु लागेको छ । पूर्वी तराईबाहेक अरु ठाउँमा लागेको हुस्सु दिउँसो हटेर घाम लाग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी तराईमा भने बेलुकीसम्मै हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले बताएको छ ।
काठमाडौँ उपत्यकामा अहिले लागेको हुस्सु पनि दिउँसोपख हट्नेछ । तराईमा दिनहुँ बाक्लो हुस्सु लागे पनि शीतलहर भने चलिनसकेको महाशाखाले बताएको छ । ४८ घण्टासम्म लगातार हुस्सु लागेको अवस्थालाई मात्र शीतलहर भनिने मौसमविदको भनाइ छ । शीतलहर नचले पनि राम्रोसँग घाम नलाग्दा तराईको जनजीवन बढी कष्टकर भएको छ । बाक्लो हुस्सुकै कारण तराईमा हवाइ उडान पनि नियमित हुन सकेको छैन ।