प्रधानमन्त्रीले बोली फेरे : फ्रन्टलाइनमा खटिनेलाई तीन महिनामा, बाँकीलाई वर्ष दिनभित्र
माघ १४ गते कोरोनाभाइरसविरूद्धको खोप अभियान सुरूआत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई खोप पुर्याउने बताएपछि धेरैलाई आश्चार्य लाग्यो।
संसारका धनी र शक्तशाली मुलुकहरूले समेत चाहेजति खोप नपाएको र दुई वर्षपछिका लागि समेत खोप बुक गरिसकेका बेला भारतले दिएको अनुदानको खोप लगाउँदै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाउन सकिन्छ भनेको सुन्दा धेरैले पत्याएनन्। यो उनको झुटा वाचाको शिलशिला ठानियो।
आफ्नै बोलीमा प्रधानमन्त्री ओलीलाई पनि भर रहेनछ! ७२ घन्टापछि उनले आफ्नो बोली फेरे।
शनिबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र फ्रन्टलाइनमा खटिनेलाई र सन् २०२१ को अन्त्यसम्म सबैलाई खोप लगाएर कोरोना भगाउने बताएका हुन्।
‘मैले भनेको छु एकदमै फ्लोर फ्रन्टमा रहेर कठिनाई झेलेर काम गर्नेहरूलाई खोप दिलाउने काम आगामी ३ महिनाभित्र हामी सम्पन्न गर्नेछौं र क्रमशः यो सन् २०२१ भित्र सम्पूर्ण जनतालाई लाइसकेर कोभिड १९ लाई हामी नेपालबाट भगाउँछौं। बाँकी विश्वले पनि भगाउँछ भन्ने हामीले विश्वास लिएका छौं,’ उनले भने।
विश्वका कम देशले मात्रै खोप सुरू गरेको समयमा नेपालले खोप अभियान नै चलाइसकेको बताए। शनिबारको कार्यक्रममा बोल्दै उनले १६ गतेबाट ७७ वटै जिल्लामा खोप अभियान चलेको भन्दै शुक्रबार ४ बजेसम्ममा ४८ हजार जनाले खोप लगाइसकेको बताएका थिए।
‘तर कतिपय तत्वहरुले सरकारले छिट्टै खोप ल्यायो भन्न सक्दैनन्। त्यो भन्दा जनताले थाहा पाए भने,’ उनले भने, ‘जनताले त उनीहरूले डर मान्दा मान्दै पनि खोप लाइराखेका छन्, थाहा पाइराखेका छन्। जनताले थाहा नपाएको भए आज यो उपस्थिति यो ठाउँमा हुने थिएन। जनतालाई थाहा छ गरेका कामहरू।’
भारतले नेपाललाई गत साता १० लाख डोज कोरोना खोप अनुदान सहयोग दिएको थियो।
सोही खोप लगाउने अभियानको सुरूवात गर्दै प्रधानमन्त्री ओलीले आउने तीन महिनाभित्र सबै नेपालीले खोप पाइसक्ने आश्वासन दिएका थिए।
उनले भने, ‘हामी ठान्छौं करिब तीन महिनाभित्र हामीले सबै नेपालीलाई खोप उपलब्ध गराइसक्ने छौं।' अझ अगाडि बढेर उनले बढीमा तीन महिना लाग्ने संकेत गर्दै भने, ‘मेरो विचारमा तीन महिना लाग्न सक्छजस्तो लाग्छ।'