प्रदूषण निकै खतरनाक
हिउँदयाममा बदली भएका बेला प्रदूषणको मात्रा निकै खतरनाक हुने गरेको पाइएको छ। यसबाट मानव स्वास्थ्यमा गम्भीर असर पार्ने वातावरणविद्हरू बताउँछन्। उनीहरूका अनुसार हिउँदेयाममा चिसो बढेको बेला विशेषगरी बिहान र बेलुका हावामा हुने प्रदूषण बढ्छ।
केहीदिन अघि नेपालको पश्चिमी भू-भाग हुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले सोमबार बिहान यसपालिको पहिलो हिउँदे वर्षा त भयो तर त्यसले आकाश खुलाउन सकेन।
मंगलबार पनि बिहानैदेखि घाम देखिएको छैन। हुस्सु लागेजस्तो काठमाडौं धुम्म भएको छ। भिजिबिलिटी घटेको छ। दुई दिनसम्म घाम नलागे पनि काठमाडौं न्यूनतम तापक्रम भने घटेको छैन। बरू पहिलाभन्दा बढेको छ। पुस १६ गते काठमाडौंको न्यूनतम तापक्रम ०.८ डिग्री मापन भएको थियो भने आज ९ डिग्री सेल्सियस छ।
तापक्रम बढेसँगै काठमाडौंको वायुको प्रदूषण पनि ह्वात्तै बढेको छ। सोमबार त काठमाडौंको वायु प्रदूषणले खतराको तह नै पार गर्यो। वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई)मा मापन गरिन्छ।
शीतलहर चलेका बेला प्रदूषणको जोखिम झनै बढ्ने वातावरणविद्हरू बताउँछन्। काठमाडौंजस्तो वरिपरि पहाडले घेरिएको ठाउँमा चिसोयाममा धुलाका मसिना कणहरू गुम्सिएरै हावाभित्र रहने पौडेलको भनाइ छ। वातावरणविद्हरू गर्मीयामभन्दा वर्षायाम बढी उपयुक्त हुने बताउँछन्। वर्षायाममा वर्षा हुने भएकाले धुलोका कणहरू वर्षासँगे हट्ने भएकाले वर्षायाम उपयुक्त हुने वातावरणविद्हरूको भनाइ छ। वातारण विभागका प्राविधिक उपसचिव शंकर पौडेलले हिउँदेयाममा बदली लागेको बेला प्रदूषण निकै खतरनाक हुने बताए।
हावामा प्रदूषणको मात्रा २.५ माइक्रोनभन्दा साना कणहरू प्रतिघनमिटर ५० भन्दा कम देखिए त्यस क्षेत्रलाई ग्रिनजोन अर्थात् हरियो चिह्न मान्ने गरिएको छ। विश्व स्वास्थ्य संगठनले हावामा प्रदूषणको मात्रा २.५ माइक्रोनभन्दा साना कणहरू प्रतिघनमिटर ४० भन्दा कम देखिए ग्रिनजोन मान्ने गरेको छ तर नेपालले ५० सम्म देखिए त्यस क्षेत्रलाई ग्रिनजोन मान्ने गरेको छ। काठमाडौंको रत्नपार्कमा सोमबार हावामा प्रदूषणको मात्रा २.५ माइक्रोनभन्दा साना कणहरू प्रतिघनमिटर १ सय ५० को हाराहारीमा रहेको वातावरण विभागले जनाएको छ।