बाल यौन दुराचार गरेको आरोपमा पोखराबाट फ्रान्सेली नागरिक पक्राउ
बाल यौन दुराचारको आरोपमा फ्रान्सेली नागरिक पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार तीन जना नाबालकलाई बाल यौन दुराचार तथा शोषण गरेको आरोपमा ती नागरिकलाई पोखराबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ६० वर्षीय क्रिस्टिन सर्ज हेनरी नगरेट छन्। उनलाई पोखरा महानगरपालिका-१७ बिरौता पावरहाउस फुर्सेखोला बगरबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
उनी पोखरा-६ खहरे बस्दै आएका थिए। गैरपर्यटक भिसामा बस्दै आएका उनी पेशाले कम्प्युटर इन्जिनियरको रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।
उनी करिब १६/१७ वर्षदेखि भिसाको समय थप्दै पोखरा बस्दै आएका छन् । उनलाई १२, ८, ७ वर्षका नाबालकलाई बाल यौन शोषण गरिरहेकै बेला रंगेहात समातिएको ब्युरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । उनी नेपाली महिलासँग विवाह गरी पोखरा बस्दै आएका छन्।
नाबालकलाई नगरेटले प्रलोभन देखाएर यौन शोषण गर्दै आएको पाण्डेले बताए । ती नाबालकलाई अभिभावकको जिम्मा लगाइएको छ भने नगरेटलाई कास्की प्रहरीलाई अनुसन्धानका लागि बुझाइएको छ। ‘लामो समयदेखि उनले यौन शोषण गर्दै आएको सूचना थियो,’ पाण्डेले भने, ‘सोमबार ब्युरोको टोलीले फुर्सेखोलाबाट रंगेहात नाबालकसहित पक्राउ गरेको हो।’