नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान सुरू
कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान आजदेखि पुनः सुरू भएको छ। करिब नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान पुनःसञ्चालनमा आएको हो।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ए ३२० जहाजले काठमाडौंबाट १४१ यात्रु लिएर केहीबेरअघि दिल्ली उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
बिहान ११ः२० बजे उडेको उडान नं २०५१ जहाज दिल्लीबाट त्यहाँको समयअनुसार दिउँसो १ः५५ बजे काठमाडौँ फर्किने उडान तालिका छ। एक सय ५७ यात्रु क्षमताको न्यारोबडी जहाजमा १३५ इकोनोमिक र छ बिजनेस क्लासका यात्रु सवार रहेको निगमले जनाएको छ।
नौ महिनापछि पहिलो उडानको अकुपेन्सी उत्साहवर्द्धक रहेको र दिल्ली गन्तव्यमा आगामी दिनमा विगतमाझैं प्रत्येक दिन दुई उडानको अपेक्षा गरिएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताइन्।