कलंकी दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या दुई पुग्यो
(काठमाडौं) शुक्रबार राति काठमाडौंको चन्द्रागिरीस्थित ढुङ्गेअड्डा खड्कुले कालिका पेट्रोल पम्प नजिक भएको भयानक दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
हेटौंडाबाट सिमेन्ट बोकेर सुकेधारा आइरहेको प्रदेश–२ ०३–००१ ख १४२० नम्बरको आइचर ट्रकको ब्रेक फेल भई ढुंगेअड्डा नजिक अन्य सवारी साधनहरूलाई ठक्कर दिँदा भएको दुर्घटनामा घटनास्थलमै ओखलढुङ्गाका ३० वर्षीय शंकर परियारको मृत्यु भएको थियो ।
त्यस्तै, गम्भीर घाइते बनेका सप्तरीका २६ वर्षीय रञ्जितकुमार चौधरीको पनि कंलकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
सोही दुर्घटनामा घाइते भएका अन्य पाँच जनाको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । आइचर ट्रकको ब्रेक फेल हुँदा एउटा ट्याक्सी, एउटा पिकअप, एउटा बस, एउटा मोटरसाइकल, एउटा स्कुटर, मोटरसाइकल, डीआई र एउटा साइकललाई ठक्कर दिएको हो ।