वाग्मती सफाइको ४०० औँ हप्ता : सात स्थानमा चेतना जगाइने
(काठमाडाैँ) वाग्मती सफाइ महाअभियानको ४०० औँ हप्ताको कार्यक्रम उपत्यकाका सात स्थानमा जनचेतनामूलक अभियानसहित विशेष कार्यक्रम गरी मनाइने भएको छ । सफाइ महाअभियानको बुधबारको बैठकले साँगा भञ्ज्याङ, नागढुँगा, नयाँ बसपार्क, त्रिभुवन विश्वविद्यालय प्रवेशढोका, बालाजु बाइपास, नारायणगोपाल चोक, मीनभवनमा जनचेतनामूलक अभियानसहित सफाइ गर्ने निर्णय गरेको छ ।
जनचेतनामूलक सफाइ अभियानपछि दिउँसो मीनभवनमा ४०० औँ हप्ताको मुख्य कार्यक्रम गरिने अभियानकर्मी गोविन्द काफ्लेले राससलाई जानकारी दिनुभयो । जनचेतनामूलक कार्यक्रमका लागि संयोजकसमेत तोक्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले अभियानकर्मीहरु नरेश रञ्जित, ताराबहादुर कुँवर, लोकबहादुर टण्डन, रामकुमार श्रेष्ठ, चित्रबहादुर सुनुवार र शोभाकान्त पाण्डेलाई संयोजन गर्ने जिम्मेवारी दिएको छ । मीनभवनमा भने मूल कार्यक्रम गर्न लागिएकाले त्यहाँको नेतृत्व महाअभियानले नै गर्ने जनाइएको छ ।