नेवार समुदाय यःमरी पुन्ही मनाउँदै
काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले आज धुमधामका साथ यःमरी पुन्ही पर्व मनाउँदै छन्।
चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भनिन्छ। सोही रोटी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरी पुन्हीको रूपमा मनाउने गरिएको हो। ज्यापु समुदायले यो दिनलाई ज्यापु दिवसको रूपमा समेत मनाउँदै आएका छन्।
नेवार समुदायमा यःमरीको विशेष महत्व छ। विशेषगरी जन्मदिनलगायतका विशेष शुभकार्यमा यःमरी नभई नहुने पकवानमध्ये एक हो।
यःमरी मठमन्दिर, मानिसको जोडा जन्मदिन (जस्तो दुई वर्ष, चार वर्षको जन्मदिन)को अवसरमा नभई नहुने पकवान भएको संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले बताए। उनले भने, 'नेवार समुदायमा नयाँ घर निर्माण गरी धुरी पूजा गर्दा, दुई वर्ष, चार वर्ष, छ वर्ष र १२ वर्षको जोडा जन्मदिन मनाउँदा जोडा यःमरी चढाउने, भीमारथारोहण, तान्त्रिक पूजा विधि र चह्रे पूजा, सांस्कृतिक गुठी भोजमा यःमरी राखेर भोज खाने प्रचलन छ।'
यःमरीलाई कुबेर, अन्नपूर्णदेवी र गणेशको प्रतीकका रूपमा लिइन्छ। पूर्णिमाका दिन यःमरीलाई धानलगायत अन्नका भकारीमा चढाएर खाँदा घरमा अन्नको अभाव नहुने जनविश्वास छ।
त्यसैले यस दिन नेवार समुदायले यःमरीको कुबेर, गणेश, लक्ष्मी, ज्यापु, ज्यापुनी, ख्याः, महादेव, पार्वतीलगायतको आकृति बनाएर आफ्ना अन्नका भकारी र धुकुकोठा (ढुकुटी), भण्डार कोठामा चढाएर मात्र आफूले खाने चलन रहेको धौभडेलले बताए। उनले भने, 'यःमरीको कुबेर, गणेश, लक्ष्मी, ज्यापु ज्यापुनी, ख्याः, महादेव, पार्वतीलगायतको मूर्ति बनाएर आफ्ना अन्नका भकारी र धुकुकोठा (ढुकुटी), भण्डार कोठामा चढाउँदा अन्न वृद्धि हुने र त्यसको प्रभावले घर अन्नले भरिपूर्ण हुने तथा धनलाभ हुने जनविश्वास रहिआएको छ ।'
यसरी चढाएको यःमरी चार दिनपछि विवाहिता जेठी छोरी बोलाएर उसको हातबाट प्रसाद खाइसकेपछि यःमरी पुन्ही सकिन्छ।