‘फुडमान्डु’को सिस्टम ह्याक गरी ग्राहकको विवरण सार्वजनिक गर्ने युवक पक्राउ
फुड डेलिभरी प्लेटफर्म ‘फुडमान्डु’को सिस्टम ह्याक गर्ने युवक पक्राउ परेका छन्।
सिस्टम ह्याक गरी ग्राहकहरूको सम्पर्क नम्बर तथा विवरण सामाजिक सञ्जालमा सार्वजनिक गर्ने १९ वर्षीय युवक पक्राउ परेका हुन्। नेपाल प्रहरीको साइबर ब्युरोले मंगलबार काठमाडौं महानगरपालिका-२६ को रानीबारीबाट दिनेश तिवारीलाई पक्राउ गरेको हो।
ब्युरोका अनुसार उनले फुडमान्डुको डाटा बेसमा प्रवेश गरी ग्राहकहरूको सम्पर्क नम्बर तथा अन्य विवरण सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।
उनीविरूद्ध फुडमान्डुले उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले बताए।
प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ। ब्युरोले अहिले विशेष टोली गठन गरी ह्याकर्स हन्ट अपरेसन सञ्चालन गर्दै आएको छ।