सगरमाथाको नयाँ उचाइ नेपाल–चीन सम्बन्धको नयाँ माइलस्टोन : चीन
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजानले विश्व नै कोरोना भाइरस महामारीका कारण अति प्रभावित भइरहेको समयमा सगरमाथाको नयाँ उचाइको समाचारले नयाँ आशाको सञ्चार गरेको बताएका छन् ।
बुधबार चिनियाँ विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता झाओ लिजानले यस्तो बताएका हुन् ।
मंगलबार घोषणा गरिएको सगरमाथाको नयाँ उचाइ नेपाल–चीन सम्बन्धको नयाँ माइलस्टोन भएको प्रतिक्रिया दिदै उनले अनेकौं प्रतिकुलताका बाबजुद पनि दुवै पक्षले विगत एक वर्षमा गरेको कठिन कामको प्रतिफल भएको बताए ।
उनले नेपाली पक्षले उल्लेख गरेझै नेपाल–चीनको मित्रवत सम्बन्ध हिउँजस्तै पवित्र र हिमालजस्तै विशाल रुपमा विकास हुने बताए । यसैबीच उनले चिनियाँ पक्ष इकोलोजी र वातावरणको संरक्षणलाई सुदृढ बनाउन र अन्य अनुसन्धानका लागि नेपालसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘यो अमूल्य सम्पत्ति र दुवै देशका जनताले शेयर गरेको होमल्याण्डको रक्षाका लागि सहकार्य गर्न तयार छौं ।’
कोरोना महामारीले अझै पनि भयावह अवस्था सिर्जना गरिरहेको बताउँदै मुलुकहरुले नेपाल र चीनको जस्तै राम्रो विश्वासका साथ सहकार्य गरेमा भाइरसलाई पराजित गर्न सकिने बताए ।