नेपालले कोरोना संक्रमणबिरुद्धको खोप ल्याउन आवश्यक तयारी तीब्ररुपमा अघि बढायो
नेपालले कोरोना संक्रमणबिरुद्धको खोप ल्याउन आवश्यक तयारी तीब्ररुपमा अघि बढाएको छ ।
यसअघि नै औषधि अध्यादेश जारी गरेर कानूनी अड्चन फुकाएपछि नेपालले कोभाक्स सुविधा अन्तर्गत सहुलियत दरमा समयमै कोभिड–१९ को खोप पाउन सम्बन्धित निकायमा प्राविधिक विवरण समेत पठाइसकेको छ ।
लामो समयको प्रतीक्षापछि विश्वमा कोरोनाविरुद्धको खोप उपलब्ध हुन थालेको छ । कोरोनाविरुद्धको खोप फाइजरको प्रयोग गर्न बेलायतले अनुमति नै प्रदान गरिसकेको छ । बेलायतको औषधि नियमनकारी निकाय मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्स रेगुलेटरी एजेन्सी (एमएचआरए)ले फाइजरको भ्याक्सिन प्रयोगका लागि स्वीकृति दिएको छ ।
कोरोना महामारी रोक्न खोप, उपचार, परीक्षण उपलब्ध गराउन कोभाक्समा सहभागी १८६ मुलुक छन् । नेपाललाई न्यून आय भएको मुलुकमा राखिएको छ ।
सन् २०२१ सम्म प्रभावकारी कोभिड खोपको दुई अर्ब मात्रा वितरण गर्ने कोभाक्सको लक्ष्य छ । यहीँ सुबिधा अन्तर्गत नेपालले पनि केही मात्रामा खोप पाउने छ । सरकारले खोप ल्याउने तयारी गरिरहेको र संसारमा खोप उपलब्ध हुनथालेपछि नेपालले पनि छिटो भन्दा छिटो कोरोना बिरुद्धको खोप भित्र्याउने अर्थ मन्त्री बिष्णु पौडेलको भनाइ छ ।
नेपालको कुल जनसंख्याको २० प्रतिशतको लागि पुग्ने खोप कोभाक्स अन्तर्गत सहयोगमा आउने छ भने थप खोप खरिद गर्नुपर्ने छ । हालसम्म विश्वमा कोरोना बिरुद्धका ४ कम्पनीले खोप निर्माण गरेर लाइसेनिङको प्रक्रियामा छन् ।