चितवनको जलबिरेमा बोलेरो दुर्घटना, २ को मृत्यु, ११ घाइते
चितवनको जलबिरेमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।
शुक्रबार बिहान ९ः५५ बजे ईच्छाकामना गाउँपालिकाका– ६ जलबिरेस्थित भित्री सडकखण्ड हुँदै चण्डिभञ्जाङबाट नारायणगढ मुुग्लिन सडकतर्फ आइरहेको ना.४ च ५०५० नम्बरको बोलेरो दुर्घटना भएको हो । बलेरो आँफै अनियन्त्रित भई सडक किनारमा रहेको फलामको बिजुलीको पोलमा ठोकिन जाँदा करेन्ट सर्ट भएको थियो ।
मृत्यु भएका र घाइतेहरु सबै इच्छाकामना–६ का बासिन्दा रहेको खुलेको छ । मृत्युहुनेमा बलेरो चालक इच्छाकामना–६ बस्ने बर्ष ३० को निर्मल गुरुङ र बलेरोमा सवार सोहि ठाउँकी बर्ष ५० की खिमा कुमारी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
घाइते हुनेमा ईच्छाकामना–६ बस्ने बर्ष ५० की चन्द्र माया चेपाङ, बर्ष २२ की कबिता चेपाङ, बर्ष २० की सुकमती चेपाङ, बर्ष ५१ को तिलक बहादुर गुरुङ, बर्ष ५२ की तुलिमाया गुरुङ, बर्ष ४६ की सिता गुरुङ र बर्ष ३७ को बालकृष्ण भट्टराईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
घाइतेमध्ये ३ काे अवस्था गम्भीर रहेकाे बताइएकाे छ । अन्य घाइते बर्ष २३ की दिया क्षेत्री, बर्ष ४० की सन्तमाया भुजेल, बर्ष ३५ की ज्योती घर्ती, बर्ष ३८ की मिनमाया गुरुङ र बर्ष ३५ की पुतली माया गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए ।
डाँडाबाट मुग्लिन बजारतर्फ झर्ने क्रममा घुमाउरो बाटोमा स्पेश नपुग्दा गाडी पल्टिएको थियो ।