विदेशबाट फर्किएका युवा अदुवा खेतीमा रमाउँदै
देशमा रोजगारी नभएको भन्दै धेरै युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिएको बेला केही युवा भने वैदेशिक रोजगारीलाई छाडेर स्वदेशमै कृषि पेसामा आफ्नो भविष्य खोजिरहेका छन् ।
विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्रै भएको भन्दै रोजगारीका लागि विदेशिएका युवा पछिल्लो समय कृषिमा पेसातर्फ आकर्षित हुन थालेका छन् ।
गल्याङ नगरपालिका–९ साङलिया रिपका ३० वर्षीय दीपक राना विदेशको रोजगारीलाई छाडेर अहिले आफ्नै खेतबारीमा रमाउन थालेका छन् ।
दुबई र कतारमा गरी पाँच वर्ष बिताएका रानाले विदेशमा श्रम बढी गर्नुपर्ने तर श्रमअनुसारको पारिश्रमिक नपाएपछि नेपाल फर्किएर गत वर्षदेखि आफ्नै पाखो बारीमा अदुवाखेती सुरु गरेको बताए ।
गत वर्ष छ रोपनी जमिनमा अदुवाखेती गरेका रानाले यस वर्ष ३० रोपनीमा अदुवा लगाएका छन् ।
गत वर्ष छ रोपनी जमिनमा मात्रै अदुवाखेती गरेका उनले पहिलो वर्षमा नै राम्रो उत्पादन भएपछि १८ रोपनी जग्गा भाडामा र आफ्नो १२ रोपनी गरी ३० रोपनी बाँझो जमिनमा अदुवाखेती गरेका हुन् ।
गाउँघरमा बाँझो रहेको जमिनको सदुपयोग हुनुका साथै भिरालो जमिनमा समेत अदुवाखेती लगाएर सजिलै आम्दानी लिन सकिने र अन्य खेतीलाई बाँदरले खाए पनि यसलाई बाँदरले पनि नखाने भएकाले अदुवाखेतीमा लागेको रानाले बताए ।
नगरपालिकाले समेत व्यावसायिकरूपमा कृषि गर्नेलाई अनुदान उपलब्ध गराएपछि आफूलाई थप हौसला मिलेको रानाले बताए ।
अदुवासँगसँगै बाख्रापालनसमेत गरेका उनले ३०/४० हजार रुपैयाँ कमाउनका लागि विदेशिन नपर्ने बताए ।