लुभुको जुवाखालबाट साढे ११ लाख रुपैयाँसहित एक जना प्रहरी र १८ जुवाडे पक्राउ
प्रहरीले ललितपुरको लुभुबाट ११ लाख ५५ हजार रुपैयाँसहित १८ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना प्रहरीसमेत रहेको खुलेको छ ।
महानगरीय प्रहरी प्रभाग लुभु स्राेतका अनुसार जुवाकाे खालबाट प्रहरी जवान अपिल विक पक्राउ परेका हुन् । उनी जुवा खेलाउने सहयोगीका रूपमा खटिएका थिए । तर, जुवाडे पक्राउ परे पनि प्रहरी भने पक्राउ नपरेको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईको भनाइ छ ।
त्यसरी नै पक्राउ पर्ने अन्य व्यक्तिहरूमा भक्तपुर सूर्यविनायक–२ का सुरेश पौडेल, सोही स्थानका कृष्ण श्रेष्ठ, विकास श्रेष्ठलगायत छन् ।
त्यसरी नै स्वयम्भु प्रहरीले समेत शनिबार राति नै पूर्व राज्यमन्त्री खोभारी राय यादवसहित १० जना जुवाडेलाई पक्राउ गरेको थियो । उनीहरूको साथबाट प्रहरी १ लाख ५३ हजार रुपैयाँ बरामद गरेको थियो ।