३ वर्षसम्म पनि बनेनन् बझाङका स्थानीय तहका आफ्नै भवन
३ वर्षको अवधिमा बझाङका १२ वटा स्थानीय तहमध्ये ९ वटा स्थानीय तहले अझै आफ्नो कार्यालय भवन निर्माण गर्न सकेका छैनन् । जनप्रतिनिधि निर्वाचित भएको ३ वर्ष पुग्नै लाग्दा जयपृथ्वी नगरपालिका, छबिसपाथिभेरा गाउँपालिका र तल्कोट गाउँपालिकाले मात्रै आफ्नै भवनबाट सेवा दिइरहेका छन् ।
३ वर्षसम्म पनि भवन निर्माण नगर्दा बझाङका ९ स्थानीय तहको लाखौँ रकम भाडा तिर्नमै खर्च हुने गरेको छ । केदारस्युँ गाउँपालिका यसअघि भाडामा बसिरहेकोमा अहिले साविकको रायल गाबिस भवनमा भाडा नतिरेर बसिरहेको छ । केदारस्युँ गाउँपालिकाले देउराको बेताल मन्दिरनजिक जमिन खरिद गरिसकेको छ भने भवन निर्माण हुँन बाँकी रहेको गाउँपालिकाकी उपाध्यक्ष नीशा धामीले बताइन् ।
यस्तै, थलारा गाउँपालिका खोलीमा एक घर भाडामा लिएर बसिरहेको छ । उसले मासिक २० हजार भाडा तिर्दै आएको छ । थलाराले पनि गाउँपालिका कार्यालय निर्माणका लागि वडा नम्बर ५ को सेडीधारमा जमिन खरिद गरेर टेण्डर प्रक्रिया सुरु गर्न थालेको गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्याय जनाए ।
उता, वित्थडचिर गाउँपालिका हाल मासिक ५४ हजार मासिक भाडा तिरेर देउलेखस्थित एक भवन भाडामा लिएर काम चलाइरहेको छ । हाल कार्यालय सञ्चालन गरिरहेको भवन पछाडि जमिन खरिद गरी भवनको जग निर्माण गरिरहेको गाउँपालिका प्रवक्ता हर्क धामीले बताए । हाल मासिक ३० हजार भाडा तिर्दै आएको खप्तडछान्ना गाउँपालिकाले पनि पसल बगरको इलाका प्रहरी कार्यालयनजिक २ वर्षभित्र निर्माण गरिसक्ने लक्ष्यसहित भवन निर्माण गरिरहेको जनाएको छ ।
यस्तै, दुर्गाथली गाउँपालिका पनि साविकको चौधारी गाबिस भवनमा बसिरहेको छ तर दुर्गाथलीले मासिक ३० भाडाका लागि छट्याउने गरेको दुर्गाथली गाउँपालिका ७ का वडाध्यक्ष ऐन दौल्यालले बताए । साइपाल गाउँपालिकाले पनि मासिक ३० हजार भाडा तिर्दै आएको छ । उसले गाउँपालिका भवन निर्माणका लागि टेण्डर भएर काँडास्थित घाटमा निर्माण सुरुवात गरेको जनाएको छ ।
यता, मष्टा गाउँपालिका हाल भातेखोला गाबिस भवनमा बसिरहेको मष्टा गाउँपालिका- १ का वडाध्यक्ष राजेन्द्र खड्काले बताए । भाडा तिर्नु नपरे पनि मष्टालाई पनि अर्को भवनको आवश्यकता छ । त्यस्तै, बुंगल नगरपालिकाले पनि ७० हजार मासिक घरभाडा तिरिरहेको छ । नयाँ भवनका लागि डीपीआर सम्पन्न भइसकेको र तिहारपछि टेन्डर प्रक्रियामा जाने नगरपालिकाले जनाएको छ ।
किन बनाउन सकेनन् भवन ?
भवन निर्माणका लागि पायक पर्ने ठाउँमा जमिन नपाएर नै ढिलो भएको प्रायः जसो पालिकाको गुनासो छ । भवन निर्माणका लागि कहिल्यै बजेट नपुग्ने र स्थानीय पायक पर्ने ठाउँमा जमिन उपलब्ध नगराउने हुँदा भवन निर्माणमा ढिलाइ भएको थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए । मष्टा गाउँपालिकाले पनि पायक पर्ने ठाउँ हाल रहेकै भातेखोला गाबिस आसपास जमिन आवश्यक परे पनि नपाएको मष्टा गाउँपालिका एकका वडाध्यक्ष राजेन्द्र खड्काले बताए ।