कियाको गाडी किन्दै हुनुहुन्छ? यस्तो छ मूल्य
पछिल्ले समय नेपालमा कियाले आक्रामक व्यापार गरिरहेको छ।
कोरोनाको कारण नेपाली अटो बजार घटेको अवस्थामा कियाको सेल्स भने व्यापक बढेको किया मोटर्सको लागि नेपालको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजको सहायक महाप्रबन्धक अनिश लामिछानेले जानकारी दिए।
‘समग्र अटो व्यापार ५० देखि ५५ प्रतिशत घट्दा हाम्रो सेल्स ६० प्रतिशत बढ्यो। ग्राहकले कियालाई निकै मनपराइ रहनु भएको छ,’ उनले सेतोपाटीसँग भने।
नेपालमा किया ब्राण्ड स्पोर्टेज मोडलदेखि धेरै लोकप्रिय हुन थालेको उनले जानकारी दिए।
‘हामीले स्पोर्टेजको धेरै अप्सन ल्याएका थियौं। ग्राहकले त्यसलाई एकदमै मन पराउनु भयो। त्यसपछि सेल्टोसले त बजारमा तहल्का नै मच्चायो,’ लामिछानेले भने।
कियाको व्यपार भारतमा पनि आक्रामक छ। किया मोटर्स इण्डियाको तथ्यांक अनुसार यो वर्ष अक्टोबरमा गत वर्षको तुलनामा ६४ प्रतिशत सेल्स बढेर २१ हजार २१ युनिट पुगेको छ।
कम्पनीले गत वर्ष अक्टोबरमा १२ हजार ८ सय ५४ युनिट गाडी मात्र विक्री गरेको थियो।
किया मोटर्सले अक्टोबरमा सोनेट ११ हजार ७ सय २१, सेल्टोस ८ हजार ९ सय र कार्निवल ४ सय वटा विक्री गरेको थियो। हामीले यहाँ कियाका विभिन्न मोडलका गाडीहरुको मूल्य उल्लेख गरेका छौं।