बेलायतमा दिनदिनै ठूलो संख्यामा कोरोना सङ्क्रमित बढ्दै
(काठमाडौँ) बेलायतमा फेरि पनि कोभिड- १९ (काेराेना भाइरस) का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको छ । लन्डनबाट प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब २३ हजार नयाँ संक्रमित फेला परेका छन् ।
यो संख्या बेलायतमा भेटिएका कोरोनाका संक्रमितहरुको पछिल्ला केही दिनयताको भन्दा सात गुणाले बढि भएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।
आइतबार राति करिब साँढे नौ बजे सार्वजनिक गरिएको तथ्यांक अनुसार २४ घन्टामा थप २२ हजार ९ सय ६१ जना नयाँ संक्रमित पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । शनिबार सार्वाजनिक तथ्यांकमा पनि अघिल्लो दिनको तुलनामा झन्डै दोब्बर अर्थात १२ हजार ८ सय ७२ नयाँ संक्रमित थपिएका थिए ।
तर पनि यहाँका स्वास्थ्य अधिकारीहरुले प्राविधिक कारणले यो संख्या बढी देखिएको र यसअघिका दिनहरुमा यो संख्या समावेश नगरिएकोले शनिबार अहिलेसम्मकै सबैभन्दा बढी देखिएको बताइएको छ ।
गत २४ सेप्टेम्बर देखि अक्टुबर १ सम्म सार्वजनिक तथ्यांकमा प्राविधिक गडबडी भएको भन्दै आगामी दिनमा संक्रमितको संख्या अझ बढ्न सक्ने स्वास्थ्य विभागले बताएको छ । यसैगरी गएको २४ घन्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।योसँगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार ३ सय ५० पुगेको छ । यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ ।
बेलायतमा यो सङ्क्रमणको दोस्रो वेभ आएको बताइएको छ । त्यसैले यहाँका कतिपय सार्वजनिक सेवाहरुमा पनि कडाई गरिएको बताइएको छ ।