कोटेश्वरका व्यापारी सडकमा, सहज रुपमा व्यवसाय चलाउन दिन माग
३० भदौ, काठमाडौं । निषेधाज्ञाको विरोधमा कोटेश्वरका व्यापारीहरुले प्रदर्शन गरेका छन् । लामो समय भइसक्दा पनि अझै निषेधाज्ञा पूर्ण रुपमा नहटाइएको भन्दै कोटेश्वर व्यवसायी संघले मंगलबार विहान प्रदर्शन गरेको हो ।
अब निषेधाज्ञा पूर्णरुपमा खुलाई सहज रुपमा व्यापार व्यवसाय गर्न पाउनुपर्ने संघको माग छ । करिब ४ महिना लकडाउन र त्यसपछिको निषेज्ञाधाका कारण व्यवसायीहरु निकै ठूलो समस्यामा फस्न लागेको संघका अध्यक्ष सरोज थापाले बताए । सधैं घरभित्र थुने कोरोनाभन्दा पनि भोकले मर्ने अवस्था आउने भन्दै अब सहज बनाउनु पर्ने अध्यक्ष थापाको माग छ ।बन्दाबन्दी अवधीभरको बैंक तथा वित्तीय संस्थाहरुको ब्याज मिनाहा गर्नुपर्ने, करको जरिवाना मिनाहा गर्नु पर्ने घरभाडामा सहुलियत दिनु लगायतका मागहरु संघले अघि सारेको छ ।
बन्दाबन्दीका कारण व्यवसायीहरु समस्यामा परेको भन्दै विभिन्न मागहरु राखेर नेपाल राष्ट्रिय व्यवसायी महासंघ पनि आन्दोलनमा छ । केही दिनयता महासंघले सरकार तथा विभिन्न राजनीतिक दलका नेताहरुलाई भेटेर ज्ञापन पत्र बुझाउँदै आएको छ ।
महासंघले केही दिनअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई भेटेर आफ्ना मागहरु पूरा गर्न ध्यानाकर्षण गराएको थियो । त्यसपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पनि आफ्नाहरु पूरा गराउन भूमिका खेलिदिन आग्रह गरेको थियो ।सोमबारमात्रै पनि महासंघले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईलाई भेटेर आफ्ना मागहरुबारे जानकारी गराएको थियो ।
साभारः अनलाइन खवर