भारतमा कोरोनाबाट ४७ हजार भन्दा बढीको मृत्यु
कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या भारतमा एकै दिन झण्डै ६७ हजार थप भएको छ। भारतीय सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६६ हजार ९९९ जना नयाँ संक्रमित भेटिएका हुन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोही अवधिमा कम्तीमा ९४२ जनाको कोरोनाकै कारण मृत्यु भएको पनि जनाएको छ । योसँगै भारतका कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या ४७ हजार ३३ पुगेको छ ।
यस्तै भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या २३ लाख ९६ हजार ६३८ पुगेको अधिकारीहरुले जनाएका छन् । तीमध्ये छ लाख ५३ हजार ६२२ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने १६ लाख ९५ हजार ९८२ जना संक्रमणमुक्त भएका छन् । अधिकारीहरुकाअनुसार सबैभन्दा धेरै महाराष्ट्रमा एक लाख ४७ हजार ८२० जना र दोस्रो धेरै आन्ध्र प्रदेशमा ९० हजार ४२५ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन्।
यसैबीच कोरोना भाइरसका कारण विश्वभरी संक्रमित भएकाहरुको संख्या दुई करोडभन्दा बढी पुगेको छ । पछिल्लो विवरणअनुसार विश्वभरी दुई करोड एक लाख ६२ हजार ४७४ जना संक्रमित भएका हुन् । योसँगै विश्वभरी कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या सात लाख ३७ हजार ४१७ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।