आज गाइजात्रा पर्व मनाइँदै, काेराेना कहरले गर्दा तामझामका साथ नहुने
(काठमाडाैं) गाइजात्रा पर्व आज काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँमा मनाइँदैछ । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि आठ दिनसम्म यो पर्व मनाइन्छ ।
आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
काठमाडौँ उपत्यकामा बढी प्रचलन भए पनि नेवार समुदायको बसोबास भएका अन्य जिल्लामा पनि यो जात्रा मनाउने चलन बढ्दै छ । कोरोना (कोभिड–१९) सङ्क्रमण बढ्दै गएपछि यस वर्षको गाईजात्रा भने निकै होशियारीपूर्वक मनाउनुपर्ने भएको छ । भीडभाडका बीच जात्रा मनाउँदा कोरोना सङ्क्रमण समुदायमा पनि फैलिने खतरा छ ।
सरकारले ज्येष्ठ नागरिक र बालबालिकालाई भीडभाडमा नल्याउन अनुरोध गरिसकेकाले विगतझैँ यस वर्षको गाईजात्रा तामझामका साथ नहुने भएको छ । सरकारले बालबालिकालाई घर बाहिर निस्कन रोक लगाएपछि सांस्कृतिक रूपमा टोल छिमेकमै जात्रा मनाइने छ । विगतमा बालकको सहभागिता अधिक हुने गरे पनि यस वर्ष बालकलाई सहभागी गराउन समस्या भएको छ ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले आफ्नै टोल छरछिमेकमा पर्व मनाउँदै संस्कृति संरक्षण गर्न आग्रह गरेको जानकारी दिनुभयो । उहाँले कोरोना सङ्क्रमणको जोखिम उच्च रहेकाले होशियारीपूर्वक पर्व मनाउन आग्रह गरिएको बताउनुभयो । हनुमानढोका दरबार छेउको सिद्धिचरणचोक दफ्तर क्लबका अध्यक्ष राकेश शाहीले पनि दरबार आसपास सधैँजसो यो जात्रामा भीडभाड नहोस् भनेर क्लबले सजगता अपनाएको बताउनुभएको छ ।