वीरगन्जमा उपचार नपाएर ९ वर्षीय बालकको मृत्यु
बाराको बारागढी गाउँपालिका–२ सुखीपत्रा निवासी ९ वर्षीय एक बालकको मंगलबार बिहान १० बजे वीरगन्जको नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
झाडापखाला र बान्ता निको नभएपछि आइतबार राति करिब ४ बजे शिशिरकुमार साहलाई परिवारले थप उपचारका लागि वीरगन्ज लिएर आएका थिए । ५ वटा अस्पताल चहार्दाचहार्दै पनि कसैले भर्ना लिएनन् । प्रहरीको भन्सुनले दोस्रो पटकमा नेसनल मेडिकल कलेजले सोमबार बिहान ९ बजे भर्ना लिएपनि दिनभरि उपचार नगरेको परिवारको आरोप छ । आइसीयुमा उपचार नगरी छुट्टै कोठामा राखेको झन्डै २४ घन्टापछि शिशिरको मृत्यु भएको परिवारले जनाएका छन् ।
झाडापखाला र बान्ता नरोकिएपछि उनका बुबा उमेश साहले आइतबार केही स्वास्थ्य चौकीमा उपचार गराएका थिए । निको नभएपछि आइतबार राति नै करिब २ बजेको समयमा शिशिरलाई ज्वाईको मोटरसाइकलमा राखेर सुरुमा वीरगन्जको नेसनल मेडिकल कलेज लिएर आए । नेसनलका स्वास्थ्यकर्मीले आइसीयू खाली नभएकाले तराई अस्पताल लिएर जान सुझाए । ‘शिशिरलाई नेसनलमै छाडेर मोटरसाइकल लिएर तराई पुगें,’ शिशिरका भिनाजु उपेन्द्र साहले भने, ‘त्यहाँ पनि बेड खाली छैन् भने ।’ उपेन्द्रका अनुसार स्वास्थ्य अवस्था बिग्रिरहेको बच्चालाई कहीँ न कहीँ त उपचार गराउनु पर्यो भनेर पानीट्यांकी क्षेत्रमा रहेको एल.एस न्युरो अस्पतालमा लिएर गएका थिए । ‘न्युरोमा सुरुमै १० हजार रुपैयाँ एडभान्स जम्मा गर्न लगाए,’ उपेन्द्र भन्छन्, ‘पछि आइसीयुमा भर्ना गर्ने बेला भर्ना नै नगरि अन्यत्र लैजान भने । लिंक रोडमा रहेको भवानी हस्पिटल पनि गयौं तर, त्यहाँ पनि बेड खाली छैन् भने ।’
चारैतिर हारगुहार गर्दा पनि कुनै अस्पतालले भर्ना लिन नमानेपछि उनी सोमबार बिहान ७ बजेतिर शिशिरलाई लिएर घन्टाघर चोकमा पुगेका थिए । सुरक्षामा तैनाथ प्रहरीले नारायणी अस्पताल लैजान सल्लाह दिए । जिल्लाको प्रहरी प्रमुख र सिडिओको फोन नम्बर पनि दिए । नारायणी अस्पतालको आकस्मिक कक्षमा पुग्दा त्यहाँको अवस्था पनि खराब नै रहेको उनले सुनाए । ‘नाम मात्रको लागि आकस्मिक कक्ष सञ्चालनमा रहेछ ।
त्यहाँका स्वास्थ्यकर्मीले बच्चा सिकिस्त रहेकाले आइसीयूमा भर्ना गर्नुपर्छ भन्दै फिर्ता पठाइदिएको उनले बताए । ‘नारायणीबाट एसपी साहेबको नम्बरमा फोन लगाएर समस्या सुनायौँ,’ उपेन्द्रले भने, ‘उहाँले नेसनल मेडिकल जानु्स्, त्यहाँको प्रहरीलाई भनिदिन्छु तपाईंको बच्चाको उपचार हुन्छ भन्नु भयो ।’
बिहान फेरि ९ बजे शिशिरलाई लिएर दोस्रो पटक मेडिकल कलेज पुगेको उपेन्द्रले बताए । यसपालि भर्ना त लिए तर आकस्मिक कक्ष वा आइसीयूमा राखेनन् । ‘नाकमा अक्सिजनको पाइप लगाएर एउटा कोठामा राखिदिए । त्यसपछि कोही उपचार गर्न आएनन्,' उनले भने, ‘बिरामीको कुनै मतलब नै राखेनन् ।’ मेडिकल कलेजका स्वास्थ्यकर्मीले दिउँसो बच्चाको कोरोना परीक्षण गराउनु पर्छ भन्दै नारायणी पठाए । आफैले एम्बुलेन्स भाडा गरेर नारायणी अस्पताल लगरे शिशिरको स्वाब दिन लगाएको उनले बताए ।
‘कलेजले हामीसँग दुईवटा पीपीई सेटसमेत खरिद गर्न लगायो,’ उपेन्द्र भन्छन्, ‘सोमबार बिहान भर्ना गरेर एकैचोटी राति करिब ९ बजेको समयमा पीपीई सेट लगाएर स्वास्थ्यकर्मी शिशिरलाई हेर्न आएका थिए, औषधि दिएर गए ।’
मंगलबार बिहान कोरोनाको रिपोर्ट लिन नारायणी प्रयोगशाला पुग्दा शिशिरको मृत्यु भएको खबर आयो । ‘समयमा उचित उपचार नपाएर बच्चा नोक्सान भयो,’ भावुक हुँदै उपेन्द्रले भने । यो विषयमा मेडिकल प्रशासनसँग पटकपटक फोन गर्दा पनि सम्पर्क हुन सकेन ।