प्रदेश २ का आठ जिल्लामा ९ वटामात्रै भेन्टिलेटर
(जनकपुरधाम)
कोरोना संक्रमण भएका गम्भीर अवस्थाका बिरामीको उपचारका लागि भेन्टिलेटर र आईसीयू आवश्यक पर्छ । प्रदेश २ का आठ जिल्लामध्ये तीन जिल्लाको सरकारी अस्पतालमा मात्रै भेन्टिलेटर छ । वीरगञ्ज र जनकपुरका सरकारी अस्पतालमा मात्र आईसीयू छ ।
सबैभन्दा बढी ४ वटा भेन्टिलेटर सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा छ । तर, यहाँ आईसीयू छैन । ‘आईसीयू नभएपछि भेन्टिलेटरको अर्थ पनि छैन’ प्रदेश स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झा भन्छन्, ‘आईसीयू र भेन्टिलेटर दुबै एकसाथ भए मात्र अक्सिजनको मात्रा कम देखिने बिरामीको उपचार गर्न सकिन्छ ।’
प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा २ वटा मात्रै भेन्टिलेटर छ । प्रादेशिक अस्पतालको आईसीयूमा जडान गरिएको भेन्टिलेटर सधैं प्याक हुन्छ । सहनिर्देशक झा यहाँ कम्तीमा ५ वटा भेन्टिलेटर चाहिने बताउँछन् । त्यसबाहेक पर्साको वीरगंजस्थित नारायणी अस्पतालमा ३ वटा भेन्टिलेटर छ । सहनिर्देशक झाका अनुसार निजी क्षेत्रको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा २५ वटा र जनकपुरधामस्थित जानकी मेडिकल कलेजमा ५ वटा भेन्टिलेटर छ ।
‘निजी क्षेत्रको अन्य अस्पतालमा पनि यो होला’ उनी भन्छन्, ‘तर सरकारी अस्पतालमा कम्तीमा ५० वटा भेन्टिलेटरको आवश्यकता छ । ’